खबर

शारीरिक रूपमा अस्वस्थ नेकपा नेता बीसी उदयपुरबाट रिहा

काठमाडौँ : सुगर, उच्च रक्तचाप, हातगोडा सुन्निनेलगायत शारीरिक समस्याबाट ग्रस्त नेकपा नेता लालबहादुर बीसी उदयपुर जिल्लाबाट रिहा भएका छन् । यसअघि सरकारले सर्वोच्च अदालतको आदेश लत्याउँदै नेकपा नेता बीसीलाई सुनसरीबाट बेपत्ता बनाएको थियो ।

प्राप्त सूचनाअनुसार सुनसरीबाट उदयपुर पुर्याइएका नेता बीसीलाई विभिन्न झूट्टा अभियोग लगाएर प्रहरीले म्याद थप्न जिल्ला प्रशासन कार्यालय पुर्याएको थियो तर शारीरिक रूपमा अत्यन्त कमजोर देखिएका र कोरोना भाइरस सङ्क्रमणसमेत पुष्टि भएका नेता बीसीको स्थास्थ्यमा ध्यान दिँदै मङ्गलबार अबेर रिहा गरिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । नेता बीसी नेकपा चितवनका इन्चार्ज हुन् ।

यसअघि सर्वोच्चले शुक्रबार नेता बीसीलाई सुनसरी जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा शुक्रबारै थुनामुक्त गर्नू भन्ने आदेश दिए पनि प्रहरीले थुनामुक्त हुनासाथ सुनसरीबाटै बेपत्ता बनाएको थियो । पछि मात्र उनलाई घुमाउँदै उदयपुर पुर्याइएको सूचना प्राप्त भएको थियो ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बहसपछि नेकपाका नेता बीसीलाई प्रवृत्त भावना राखी अदालत परिसरबाटै गिरफ्तार गरेको भन्दै उक्त थुना गैरकानुनी भएकाले तत्काल थुनामुक्त गर्न आदेश दिए पनि प्रहरीले बेपत्ता बनाएको भन्दै परिवारका सदस्यहरूले चिन्ता व्यक्त गरेका थिए।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान राउत र तेजबहादुर केसीको इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, मनोहर लामिछाने, चूडाबहादुर निरौला र राजु अधीकारले बहस गरेका थिए ।

नेता बीसीलाई सरकारले भदौ १८ गते चितवन अदालतबाट रिहा भए पनि पुनः गिरफ्तार गरी सुनसरी पुर्याएर हातहतियार तथा सङ्गठित अपराधमा मुद्दा चलाएको थियो । प्रहरी नियन्त्रणमै रहेको बेला उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
ई-रातो खबर २०७७, १४ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button