मूल खबर

एक वर्षीया बालिकाको डोरीले घाँटी कसेर हत्या, परिवारकै चार पक्राउ

फागुन १४, २०७७
भैरहवा । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई वर्षअघि लगनगाँठोमा कसिएका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा काट्न थाले। त्यसले पति/पत्नीबीच खटपट मात्रै परेन, परिवारै भाँडिन पुगेको छ।

‘प्रेमाले छोरी र गाउँघरमा कुरा काटिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले बच्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमान्ले बच्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आशंकामा बल पुग्यो।’

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी (२६) प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा काटेको र परिवारमा खटपट परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झगडाले प्रेमा मानसिक तनावमा परिन्। तब उनले नाबालिका छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ।

‘पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँटी डोरीले कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘त्यसपछि त्यही डोरीको प्रयोग गरी पंखामा झुन्डिन खोज्दा नन्दले डोरी काटेर उनलाई जोगाएको पाइएको छ।’

तनावका बेला सम्हालिन नसकेकी प्रेमाले नाबालिका छोरी संगीताको छटपटाहट, चिच्याहट, तडपाइ सुनिनन्। अन्ततः उनले अबोध ‘कोपिला’लाई निमोठेरै छाडिन्।  अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button