खबर

सरस्वती माविमा विविध कार्यक्रम सम्पन्न

१४ फागुन २०७७
बाहुनडाँगी । मेचीनगर–४ स्थित सरस्वती माविले आयोजना गरेको विद्यार्थीको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिवशीय कार्यक्रम समापन भएको छ ।
मेचीनगर वडा नम्बर ४ का अध्यक्ष नविन बरालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोम आचार्यको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
कार्यक्रम समापनका अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष बराल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवँ जग्गादाता अमरबहादुर बुढाथोकी, पूर्व प्रधानाध्यापक प्रेमकुमार क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसक्रममा सरस्वती मावि र पशुपति माविबीच माविस्तरीय मैत्रीपूर्ण फुटबल खेल तथा सरस्वती मावि, पशुपति मावि, अंशु एकाडेमी र विद्या विकास एकाडेमीबीच माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको थियो ।
त्यस्तै, खुल्ला प्रतियोगितातर्फ विद्यालयका पूर्व विद्यार्थीहरुको मोटरसाइकल तथा स्कुटीको स्लो रेस, महिला अभिभावकका लागि म्यूजिकल चेयर र पुरुष अभिभावकका लागि सटफुट, छेलो हान्ने तथा हण्डी फुटाउने प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगिताका विजेता तथा उपविजेतासहित मैत्रीपूर्ण खेलका सहभागीहरुलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको क्षमता अभिवृद्धिका लागि मेचीनगर–४ नम्बर वडा कार्यालयबाट विनियोजित बजेटबाट खेलका विभिन्न विधामा आन्तरिक प्रतिष्पर्धा गराइएको शिक्षक–अभिभावक संघका अध्यक्ष कौशल उप्रेतीले बताए ।
विद्यालयका प्रधानाध्यापक भीमकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक विक्रम थापा, शिक्षिकाहरु नमूना निरौला र अनिता थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button