स्वास्थ्य

मुखको हड्डी अड्किने समस्या

मुखको हड्डी अड्किँदा मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउने, थकाइ महसुस हुने र घाँटीको मांसपेसीमा दुखाइ हुन्छ।

मानिसको अनुहार विभिन्न हड्डीका जोर्नीहरुले बनेको हुन्छ। तर हामी हातखुट्टाको जोर्नीको बारेमा हामी जति सचेत छौं, अनुहारको जोर्नीको बारेमा त्यति छैनौं।

टेम्पोरोम्यान्डिबुलर जोइन्ट, जसको संक्षिप्त रुप टिएमजे भनेर पनि चिनिन्छ। यसले हाम्रो खोपडी र जबडालाई जोडेर राखेको हुन्छ। यो जबडा खाना खाँदा, बोल्दा, श्वास फेर्दा चल्ने गर्छ।

शरीरका विभिन्न जोर्नीहरुमध्ये अनुहारको यो भाग पनि निकै महत्वपूर्ण छ। कतिपयको त मुख खोल्ने क्रममा कानमा कटकट आवाज समेत आउँछ।

कुनै साह्रो खानेकुरा खाँदा यो जोर्नीमा बल पुग्छ। यो जोर्नी खोपडी र मुखको तल्लो भागसँग जोडिएको हुन्छ। यो दुई जोर्नी एक साथ चल्ने हुँदा एउटामा समस्या आउँदा अर्कोलाई असर गर्छ।

सामान्यताः धेरै मानिसको मुखको जबडामा विभिन्न समस्या आउने गरेको छ। यसका विभिन्न कारण छन्।

पहिलो, दाँतको आकार हाम्रा दाँतहरु मिलेर बसेको हुनुपर्छ। कसैलाई बांगोटिंगो दाँत मनपर्न सक्छ। तर बांगोटिंगो नमिलेको दाँतले जबडामा असर गर्न सक्छ। दाँत बांगोटिंगो हुँदा खाना राम्रोसँग चपाउन मिल्दैन। जसले गर्दा अनुहारको यस जोर्नीमा बल पर्न जान्छ।

दोस्रो, साह्रो खानेकुरा। कुनै बेला निकै साह्रो खानेकुरा जबर्जस्ती खाँदा या टोक्दा पनि जोर्नीमा बल पुग्छ। लगातार साह्रो चिज खाँदा यस जोर्नीमा असर पुग्ने सम्भावना अत्यधिक हुन्छ। लगातार मासु खाँदा पनि यो जोर्नीमा असर पुग्न सक्छ।

तेस्रो, तनाव। सामान्यता मानिस रिसाउँदा दाँत किट्ने गर्छन्। एक प्रकारले मानिसको बल अनुहारको यो जोर्नीमा पुग्न जान्छ। त्यसैले मानिस तनावमा हुँदा यो जोर्नीलाई असर पर्छ।

जोर्नीमा असर पुगेपछि विभिन्न लक्षण देखिन्छन्। मुख खोल्दा कटकट आवाज आउने र मुख बन्द गर्न नसक्ने समस्या देखिन्छ। जोर्नी अड्किएपछि बन्द गर्न सकिँदैन। कति बिरामी त अनुहारका यी जोर्नी अड्किएर अस्पताल पनि आउँछन्। कसैैको त मुख खोल्न पनि समस्या हुन्छ।

कतिपय व्यक्तिले विभिन्न कारणवश दाँत निकाल्छन्। तर दाँत निकाले पनि त्यहाँ अर्को दाँत राख्दैनन्। दाँत निकालेको ठाउँमा खाली हुँदा पनि त्यसले जोर्नीमा असर गर्छ।

यो समस्या धेरै मानिसमा देखिन्छ। तर अधिकांश व्यक्तिहरु यो समस्याप्रति सचेत छैनन्। यो जोर्नीको उपचारका लागि नयाँ उपचार पद्धति छ। यो उपचार पद्धतिलाई न्युरो मस्कुलर डेन्टेस्ट्री भनिन्छ।

दाँत, हड्डी र मांसपेसीहरु एक–आपसमा सम्बन्धित हुन्छन्। यी तीन भाग मिलेपछि मात्र राम्रोसँग काम गर्न सक्छ। दाँत स्वस्थ भएर मात्र हुँदैन। मांसपेसीहरु पनि स्वस्थ हुन अति नै आवश्यक छ। मांसपेसीलाई आराम दिनुपर्छ।

इलेक्ट्रो मायोग्राफी अर्थात् इएमजी मेसिनबाट मांसपेसी कति जकडिएको छ भनेर हेर्ने गरिन्छ। मांसपेसी कति सक्रिय या निष्क्रिय छ, त्यो पनि पत्ता लगाउन सकिन्छ। मुखको जबडा कसरी चलिरहेको छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ।

यसको असर भनेको विस्तारै मुख खोल्न र खोलेपछि बन्द गर्न नसक्नु हो। कतिपय बिरामीको त मुख खोलेपछि खुलै रहन्छ, बन्द गर्न सकिँदैन। उनीहरु त्यस्तो अवस्थामा पनि अस्पताल आउँछन्।

मुख्यगरी यसको लक्षण भनेको मुख खोल्ने क्रममा कान नजिक कटकट आवाज आउँछ। थकाइ महसुस हुन्छ। घाँटीको मांसपेसीमा दुखाइ हुन्छ। यो समस्या भएका कतिपयले राति सुतेको बेला दाँत किट्ने गर्छन्।

मानिसहरु कानमा कटकट आवाज आउँदा इएनटी डाक्टरलाई देखाउन जान्छन्। उनीहरुलाई यो समस्याबारे थाहा नै छैन। अधिकांशलाई दाँत, गिजा भनेर थाहा छ तर यो मुखको जोर्नीबारे धेरै जानकार छैनन्।

यो समस्याबाट बच्न दाँतलाई धेरै बल पुग्ने गरी साह्रो खानेकुरा खानु हुँदैन। कटकट आवाज आउने बित्तिकै तत्काल टिएमजे विशेषज्ञलाई देखाउनुपर्छ। दाँत बांगोटिंगो छ भने मिलाउनुपर्छ। दाँत भाँचिएको छ या कुहिएको दाँत निकालिएको छ भने खाली छोड्नु हुँदैन। खाली ठाउँमा दाँत भर्नुपर्छ।

(डा शाह कान्तिपुर डेन्टल हस्पिटलका ओरल मेडिसिन एन्ड रेडियोलोजी विभाग प्रमुख हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button