
२५ फागुन २०७७
चौतारी पोष्ट अनलाइन प्रतिनिधि
काँकरभिट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पानीको मुहान सुक्नेक्रम बढेकोप्रति चिन्ता प्रकट गर्दै पानीका स्रोतको संरक्षण र सम्वद्र्धनका लागि सबैपक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २५ औं वार्षिक साधारण सभाको बुधवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
‘पानीका मुहानको खोजी र त्यसको समुचित व्यवस्थापनका लागि नगर संवेदनशील छ’ प्रमुख अतिथि आचार्यले भने–‘पानीको महत्वलाई बुझ्न जरुरी छ, पानीको उपभोगमा ध्यान पुर्याउन जरुरी छ ।’

संस्थाको सभाकक्षमा आयोजित सभाको उद्घाटन सत्रमा उनले नगरवासीलाई सहज रुपमा स्वच्छ पिउने पानीको सेवा विस्तार गर्न नगरले खानेपानी प्राधिकरणको अवधारणा अघि सारेको बताए ।
सो अवसरमा नगरप्रमुख आचार्यले काँकरभिट्टा खानेपानी संस्थाले आवश्यक मापदण्ड पूरा गरी पिउन योग्य पानी वितरण गर्दै आउनुलाई प्रशंसनीय भन्दै यो पद्धति उदाहरणीय रहेको बताए ।

सभाको उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, नेपाली काँग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर उपसभापति सुरेन्द्र बुढाथोकी, नेकपा एमाले जिल्ला सदस्य डिल्लिराम घिमिरे, नगर इञ्चार्ज देवकुमार राई, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य राजु दाहाल, जनता समाजवादी पार्टी नगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा नेपाल नगर अध्यक्ष सुशील आचार्य, धुलावारी खानेपानी उपभोक्ता समिति अध्यक्ष अजय घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभाको खुल्ला सत्रमा संस्थाका अध्यक्ष हर्क फ्याकले वार्षिक प्रतिवेदन, बन्द सत्रमा कार्यालय प्रमुख दीपक पोखरेलले आगामी नीति, योजना तथा कार्यक्रम र लेखा समिति संयोजक ओमप्रकाश दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थाको स्थापनाकालदेखि वर्तमानसम्म संस्थालाई महत्वपूर्ण योगदान पुर्याएबापत संस्थापक सचिव एवँ समाजसेवी रामचन्द्र उप्रेती र संस्थाका सल्लाहकार तथा समाजसेवी धनप्रसाद गुरुङलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको थियो ।
त्यस्तै दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विजयी भएको १ नं। प्रदेशस्तरीय टोलीका कप्तान रुविना क्षेत्री र कोच वीरु श्रेष्ठलाई नगदराशी २५ हजार रुपैयाँसहित सम्मान गरियो ।
सभाको सन्दर्भ पारेर संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रुपमा फिल्ड कर्मचारी बुधराज लावतीलाई नगदराशी ७ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको कार्यसमिति सदस्य तिलक तामाङले जानकारी दिए ।
उनका अनुसार संस्थाले सुरेन्द्रनगरमा निर्माण गरेको ट्युवेल बोरिङका लागि निस्शुल्क जग्गा उपलब्ध गराउने जग्गादाता जीतबहादुर लावतीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष हर्क फ्याकको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष शारदा पराजुली र सञ्चालन सचिव राजकुमार पराजुलीले गरेका थिए ।



