कला

रीमा भन्छिन्, ‘अभिनय मेरो लागि पागलपन हो’

फिल्मीखबर, काठमाण्डौ, 2021/03/19
फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीमा विश्वकर्माले एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा विताइसकेकी छिन् । ‘स्केप, भाले फाइट, बाटो मुनीको फूल २, ऋतु’ लगायत एक दर्जन बढी फिल्ममा काम गरिसकेकी उनको फिल्मी करिअर भने खासै सुखद छैन । डेब्यू फिल्मदेखि पछिल्लो रिलिज फिल्म ‘मिस्टर नेपाली’ सम्म कुनैले उनलाई हिटको सुख दिन सकेनन् ।

पछिल्लो समय उनी अभिनयभन्दा उद्घोषणमा व्यस्त छिन् । ‘नेपाल आइडल’ को दुई सिजनमा उद्घोषणको जिम्मेवारी निर्वाह गरेपछि अहिले उनी ‘कमेडी च्याम्पियन’ मा आबद्ध छिन् । यसमा पनि उनी उद्घोषककै रुपमा छिन् । हुनत, उनको करिअरको सुरुवात नै उद्घोषणबाट भएको थियो । १४ वर्षको उमेरमा उनले नेपाल टेलिभिजनमा ‘जाँदा जाँदै’ कार्यक्रम होस्ट गरेकी थिइन् ।

यो कार्यक्रमपछि उनले एक टेलिभिजनमा समाचार वाचिकाको रुपमा काम गर्न थालेकी थिइन् । त्यसबेलासम्म उनले हिरोइन बन्छु भनेर सोचिसकेकी थिइनन् । उनी विगत सम्झँदै भन्छिन्, ‘टिभीमा काम गर्दा महिनामा २२ हजार तलब आउँथ्यो । तर, एउटा म्यूजिक भिडियोमा काम गर्दा दिनमै १८/२० हजारसम्म आउने रहेछ । त्यही लोभले मेरो कलाकारिता यात्रा सुरु भएको थियो ।’

उनी आफ्नो अभिनयप्रतिको लगाव बेग्लै रहेको बताउँछिन् । ‘कलाकारको हिसाबले अभिनयसँगको मेरो लगाव बेग्लै छ । त्यो म शब्दमा बयान गर्न पनि सक्दिनँ । अभिनय मेरो लागि पागलपन हो, नशा हो,’ उनी अगाडि भन्छिन्, ‘तर, मलाई गर्न मन लागेको फिल्म अझै गर्न नपाएको महशुस चाहिँ हुने गरेको छ । यद्यपि, मैले आजसम्म जति पनि फिल्ममा काम गरेँ, त्यसबाट खुसी छु ।’

राम्रो निर्देशकले कलाकारलाई काम गराउने तरिका, राम्रो टिमसँग काम गर्ने माहोल र लहलहीमा फिल्म बनाउने टिमसँग काम गरेको फरक आफूलाई राम्रोसँग थाहा भएका कारण अब चित्त बुझ्ने गरी शतप्रतिशत दिएर कुन हदसम्म राम्रो काम गर्न सकिन्छ भनेर आफ्नो क्षमता देखाउने इच्छा रहेको उनले बताएकी छन् । उनलाई आफ्नै बायोपिक फिल्ममा काम गर्ने पनि इच्छा रहेछ ।

रीमा भन्छिन्, ‘मिल्यो भने म आफ्नो बायोपिक फिल्ममा आफैं काम गर्न चाहन्छु । किनकि, मेरो जिन्दगीमा धेरै उचार चढावहरु भएका छन् । कति मिडियालाई थाहा नभएको पाटो पनि होला । त्यसैले मेरो बायोपिकमा फिल्म बन्यो भने म आफैं गर्न चाहन्छु । म नै जीवित छु भने अरुले किन गर्नुपर्‍यो र ? मबाहेक अरु कसैले गर्नुपर्‍यो भने मनिषा कोइरालाको बायोपिक गर्ने इच्छा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button