स्वास्थ्य

मुख तथा दाँतमा देखिने ७ रोग र स्वस्थ राख्ने ११ उपाय

काठमाडौं– आज विश्व मुख स्वास्थ्य दिवस। दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइदै छ। यसवर्ष ‘आफ्नो मुखप्रति गर्व गरौं’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ।

शरीर भित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन। त्यसैले यो पटक ‘आफ्नो मुखप्रति गर्व गरौं’ भन्ने नारा राखिएको हो।

दन्त चिकित्सक डाक्टर प्रकाश बुढाथोकीका अनुसार दाँत तथा मुख सफा भएन भने विभिन्न किसिमका रोगहरु लाग्न सक्छ। त्यसैले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनले बताए। हामीले खाने खाना दाँतमा अड्किएर बसेमा त्यसले असर गर्ने पनि उनले बताए।

‘जहाँ फोहोर त्यहाँ रोगको घर भन्ने गरिन्छ, हामीले खाना खाँदासम्म त्यो पौष्टिक पदार्थ हो, तर खाना खाइसकेपछि दाँत तथा गिजामा दबिएर बस्ने खाना फोहोर पदार्थ हो,’ उनले भने, ‘त्यो फोहोरले नै दाँत तथा मुखमा रोगहरु निम्त्याउने गर्छ।’

डा बुढाथोकीका अनुसार मुखमा खानेकुराहरु अड्किएर बस्दा यस्ता रोगहरु लाग्न सक्छ
– दाँत खिइने,
– दाँतमा किरा लाग्ने,
– दाँत सिरिङ सिरिङ हुने,
– गिजाबाट रगत बग्ने,
– दाँत हल्लिने,
– मुखभित्र घाउ खटिरा आउने,
– गिजा सुन्निने समस्याहरु देखिन सक्छ।

यस्तै नियमित सूर्तिजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर नै समेत हुनसक्छ। डा बुढाथोकीका अनुसार बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी ९० प्रतिशत रोगहरुलाई नियन्त्रण गर्न सकिन्छ। तर नेपालीहरुमा दाँत माझ्नुपर्छ भन्ने ज्ञान भएपनि दात माझ्ने तरिका भने अझैपनि धेरैलाई जानकारी नभएको उनले बताए।

करिव १० प्रतिशत व्यक्तिहरुले मात्र सहि तरिकाले दाँत माझ्ने गरेको डा बुढाथोकीको भनाइ छ।

‘बिहान र साँझ खाना खाइसकेपछि नरम ब्रस र फ्लोराइडयुक्त मञ्जनको प्रयोग गरेर तल र माथि गरेर दाँत माझ्नुपर्छ,’ डा बुढाथोकीले भने, ‘यसरी दिनमा दुईपटक दाँत माझ्ने र अन्य समयमा सफा पानीले मुख कुल्ला गर्दा मात्र पनि ९० प्रतिशत मुख सम्बन्धी रोग कम गर्न सकिन्छ।’

बिहान खाना खाएपछि ३ मिनेट र बेलुकाको खाना खाएपछि ३ मिनेट मात्र ब्रस गर्दा पनि दाँत र मुखलाई स्वस्थ राख्नुका साथै हामीले खाने खानेकुराहरु पोषणकै रुपमा शरीरमा पुग्ने पनि डा बुढाथोकीको भनाइ छ।

दाँत नियमित सफा गर्ने बानीले हाम्रो मुटु, मिर्गौला, पेटलाई पनि स्वास्थ्य राख्न सकिने उनले बताए।

यस्तै १० प्रतिशत मुख तथा दाँत सम्बन्धी समस्या तथा रोग भने वंशाणुगत हुने भएकाले ती समस्या समाधानका लागि प्रत्येक ६ महिनामा स्वास्थ्य जाँच गराउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘६/६ महिनाको अन्तरालमा दाँत तथा मुखको परीक्षण गराउँदा जेनेटिक समस्या रहेछ भने समयमै थाहा पाउन सकिन्छ, समयमै थाहा पाएर उपचार गराउँदा पछि जटिलता पनि हुँदैन, खर्च पनि हुँदैन।’

मुख तथा दाँतलाई कसरी स्वस्थ राख्ने ?
–दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ।
–दाँत माझ्दा फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नुपर्छ।
–मञ्जन प्रयोग गर्दा साना बालबालिकाका लागि सानो केराउको दाना जतिकै मात्रामा प्रयोग गर्ने।
–ठूला व्यक्तिका लागि ठूलो केराउको दाना जतिकै मात्रामा मञ्जन प्रयोग गर्ने।

–बिहान खाना खाइसकेपछि र बेलुका खाना खाइसकेपछि एक पटकमा तीन मिनेटसम्म ब्रस गर्ने।
–दाँत माझ्दा मुखभित्रको अगाडि पछाडिको दाँत, तल माथिको दाँत, जिब्रो र जिब्रोभन्दा माथिको भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ।
–सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने।
–अत्याधिक मात्रामा चिसो पर्दाथ सेवन नगर्ने।

–दाँतमा खानेकुरा अड्किएमा साफा पानीले मुख कुल्ला गर्ने।
–ढुंगा, तार वा कुनै पनि कडा वस्तु वा धातु नटोक्ने।
–चकलेट वा गुलियो पदार्थ खाइसेपछि अनिवार्य मुख कुल्ला गर्ने।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button