कला

अब फिल्मको कथामा ध्यान दिनुपर्छ : धिरेन शाक्य

फिल्मीखबर, काठमाण्डौ, 2021/03/27

अभिनेता धिरेन शाक्यले कोरोना महामारीको समयमा दर्शकहरुले घरमा बसेर विश्वका एकसेएक उत्कृष्ट फिल्महरु हेरेका कारण अब नेपाली फिल्मकर्मीले फिल्मको कथामा ध्यान दिनुपर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले दर्शकको चाहना मेट्न कलाकारहरुले पनि अभिनयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कोरोनाले थिलथिलो बनाएको फिल्म क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्ने यकिन नभएकाले अहिले नै फिल्मको घोषणा र प्रदर्शनका लागि हतार नगर्न उनको सुझाव छ । एक फिल्मको छायांकनका लागि दुई हप्ता लामो दाङ बसाईपछि राजधानी फर्किने क्रममा उनले भने, ‘कोभिडको यो समयलाई फिल्मकर्मीहरुले आफूलाई थप माझ्ने र सिक्ने अवसरको रुपमा लिनुपर्छ ।’

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता शाक्यले दाङलाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेको पनि बताएका छन् । करीब एक दशकपछि छायांकनका लागि दाङ पुगेका उनले भने, ‘भौगोलिक हिसाबले राजधानीबाट टाढा भए पनि दाङमा फिल्म छायांकन गर्न सकिने ठाउँहरु धेरै छन् ।’

फिल्म ‘मन्जिल’ को छायांकनका लागि दुई हप्ता दाङमा बसेका उनले आफूले बनाउन लागेको नयाँ फिल्म कोरोनाका कारण तत्काल निर्माण नहुने बताएका छन् । उनले अगाडि भने, ‘बैशाखदेखि छायांकन सुरु गर्ने योजना थियो । तर, कोरोनाको दोस्रो लहरले तत्काल फिल्म निर्माण गर्न नसकिने भएको छ । यो समयमा अब हामी कथालाई बलियो बनाउन थप मेहेनत गर्नेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button