
१९ चैत्र २०७७
newsofnepal
भगवती तिमल्सिना ,काठमाडौ ।
सरकारी सेवामा कार्यरत नर्सहरुले छुट्टै संघ गठन गरि नर्सहरुका हकहितका लागि काम गर्ने भएका छन् ।सरकारी सेवामा कार्यरत नर्सले काठमाडौं जिल्ला प्रशासन कार्यलयमा ‘सरकारी नर्सिङ संघ’ ( गोनान) बुधबार विधिवत रुपमा दर्ता गरेका छन् ।
दर्ता भर्खरै मात्र भए पनि यो संस्थाको परिकल्पना सहितको योजना पहिला नै बनेको हो भन्ने कुरा संघमा आबद्ध सदस्यहरुको संख्याले प्रष्ट्याउँछ । हाल उक्त संघमा ७ सयको हाराहारीमा सदस्य रहेका छन् ।कल्पना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यि तदर्थ समिति बनाइ संस्था दर्ता गरिएको छ । तदर्थ समितिको उपाध्यक्षमा वीर अस्पतालमा कार्यरत रमिला चौलागाईं हुनुहुन्छ । त्यसैगरी महासचिवमा राजकुमारी ज्ञवाली, सचिव मित्रा देवकोटा, कोषाध्यक्ष प्रमिला थकाली र १२ जना सदस्य रहेका छन् ।
पाँच वर्ष अघिदेखि संघ दर्ताका लागि प्रक्रिया अगाडि बढाउँदै आएको र बल्ल बुधबार भने संघले आधिकारिकता पाएको उपाध्यक्ष चौलागाईं बताउँनुहुन्छ ।बिरामीलाई छिट्टो–छरितो सेवा दिनुका साथ–साथै नर्सको हकहितमा निरन्तर लाग्ने उदेश्यका साथ संघ स्थापना गरिएको उपाध्यक्ष चौलागाईं बताउँनुहुन्छ । आगामी ३ महिना भित्र अधिवेशन सम्पन्न गरि जिल्ला जिल्लामा पनि संघ विस्तार गर्दै लैजाने योजना रहेको उहाँ बताउँनुहुन्छ ।सरकारी सेवामा नर्सको स्थान बलियो बनाउनुका साथै सेवा, सुविधा, डिउटी अवधि, पारिश्रमिकमा गरिने विभेद्लाई समेत समान बनाउँन सरकारलाई दबाब दिने उदेश्यले यो संघ दर्ता गरि हामी नर्सहरु एकजुट भएका हौ अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।




