
२०७७ चैत्र ३०
हस्तबहादुर के.सी.
“ माक्र्सवादको भेष धारण गरि अत्यन्तै सूक्ष्म रुपमा माक्र्सवादको झुटो रुप प्रस्तुत गर्नु , भौतिकवादविरोधी सिध्दान्तहरुलाई सूक्ष्म रुपमा प्रस्तुत गर्नु , यो नै सामान्यत: राजनीतिक अर्थशास्त्र , कार्यनीतिका प्रश्नहरुमा र दर्शनमा आधुनिक संशोधनवादको लाक्षणिक विशेषता हो “ लेनिन
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवादको जन्म पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । कार्ल माक्र्स ( सन १८४८ – १८८३ ) र फ्रेडरिक एङ्गेल्स ( सन १८२० – २०९५ ) द्वारा सन १८४८ फेब्रुअरी २१का दिन लण्डनबाट जारी गरिएको कम्युनिस्ट घोषणापत्र मार्फत् माक्र्सवादको प्रतिपादन भएको हो ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिध्दान्त भौतिकवाद हो भने पध्दति द्वन्द्ववाद हो ।
यस आलेखमा माक्र्सवादको जन्मसंगै जन्मिएको र विकास भएको संशोधनवाद र त्यसले माक्र्सवाद अर्थात् विश्व कम्युनिस्ट आन्दोलनमा परेको प्रभावकाबारेमा उल्लेख गर्ने प्रयत्न गरिनेछ ।
माक्र्सवादका तीनवटै संघटक अंग – दर्शन , राजनीतिक अर्थशास्त्र , वैज्ञानिक समाजवादको तोडफोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो। संशोधनवादको सामाजिक श्रोत निम्न पुँजीवाद , पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इङ्गल्याण्डबाट भएको हो । संशोधनवादको चरणमा प्रवेश गरेपछि संशोधनवादको जन्म भएको हो । संशोधनवादमा अराजकतावाद र मुख्यत: अवसरवाद समिश्रित भएको पाइन्छ ।
माक्र्स र एङ्गेल्सले आफ्नो जीवनकालमा कम्युनिस्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पुँजीवादी विचारधाराका विरुध्द कडा संघर्ष चलाउनु भएको थियोे । सन १८६४ मा पहिलो अन्तर्राष्ट्रियको स्थापना गर्नु भएको थियो । माक्र्स – एङ्गेल्सले पहिलो अन्तर्राष्ट्रियका नेताहरु फ्रान्सका प्रुधो ( १८०९ – १८६५ ) , रुसका बाकुनिन ( १८१४ – १८७६ ) र जर्मनीका लासाल ( १८२५ – १८६४ ) तथा ड्युहरिंग (१८३३ – १९२१) सहित तिनका पक्षधरहरुका विचारहरुका विरुध्द भीषण वैचारिक संघर्ष चलाउनु भएको थियोे । र सन १८७२ मा पहिलो अन्तर्राष्ट्रियको विघटन गरेर माक्र्सवादको रक्षा गर्ने काम गर्नु भएको थियो ।
सन १८८३ मा माक्र्सको निधन भयो । सन १८८९ मा एङ्गेल्सले आफ्नै नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको स्थापना गर्नु भएको थियोे । सन १८९५ मा एङ्गेल्सको पनि निधन भयो । त्यस पश्चात् दोस्रो अन्तर्राष्ट्रियका नेता एडवर्ड बर्नस्टाइनले सन १८९६ मा माक्र्सवादमाथि संशोधन पेस गरेर माक्र्सवाद पुरानो भएको दावी गरे । बर्नस्टाइनले पहिलो पटक संशोधनवादको स्थापना गरे । बर्नस्टाइनलाई शास्त्रीय संशोधनवादका पिता भनिन्छ ।
लेनिनले आफ्नो प्रसिद्ध “ माक्र्सवाद र संशोधनवाद “ नामक पुस्तकमा लेख्नुभएको छ , “ भूतपूर्व कट्टर माक्र्सवादी बर्नस्टाइनले अधिकतम कोलाहलपूर्वक माक्र्सवादको संशोधन गरे , माक्र्सबारे पुनर्विचार गरे । संशोधनवादको अधिकतम अविकल अभिव्यक्तिका साथै खुला रुपमा यो प्रवृत्तिलाई आफ्नो नाम प्रदान गरे “ – लेनिन , संकलित रचनां दस खण्डमा खण्ड – ३ , पृष्ठ ३८२ , प्रगति प्रकाशन मास्को १९८१ ।
सन १९१४ मा दोस्रो अन्तर्राष्ट्रियको पनि विघटन गरियो । र , सन १९१९ मा लेनिनको नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको स्थापना गरियो । सन १९२४ मा लेनिनको निधन भयो । त्यस पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नेतृत्व प्रदान गर्ने र सोभियत समाजवादको विकास गर्ने जिम्मेवारी स्टालिनको काँधमा आयो ।
सन १९४३ मा तेस्रो अन्तर्राष्ट्रियको पनि विघटन गरियो । र , सन १९४७ मा स्टालिनले “ कोमिफर्म “ नामक अन्तर्राष्ट्रियको गठन गर्नु भएको थियो । तर त्यो व्यवहारमा आउन सकेन ।
सन १९५३ मा कमरेड स्टालिनको पनि निधन भयो । कमरेड स्टालिनको मृत्युले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले गंभीर प्रकारको क्षति व्यहोर्नु पर्यो । स्टालिनको दु:खद निधन पश्चात् निकिता ख्रुश्चोव सोभियत सत्ता र पार्टी सत्ताको नेतृत्व गर्न पुगे ।
सन १९५६ को फेब्रुअरीमा अखिल संघीय सोभियत कम्युनिस्ट पार्टी ( बोल्सेभिक) को २० औ महाधिवेशन सम्पन्न हुदै गर्दा तत्कालीन राज्य प्रमुख र पार्टी महासचिव निकिता ख्रुश्चोवद्वारा २४ – २५ तारिखको मध्यरातमा स्टालिनका विरुध्दमा गोप्य रिपोर्ट पेस गरियो ।
सन १९५६ मा सोभियत संघको कम्युनिस्ट पार्टी ( बोल्सेभिक) को बीसौ महाधिवेशन सम्पन्न भयो । त्यसै महाधिवेशनबाट ख्रुश्चोवद्वारा आधुनिक संशोधनवादको जन्म भयो ।
त्यस महाधिवेशनमा ख्रुश्चोवले उठाएका दुईवटा प्रश्नहरु मुख्य प्रथम– स्टालिनका विरुद्ध आक्रमण । दोस्रो – “ शान्तिपूर्ण संक्रमण “ को प्रश्न ।
उक्त महाधिवेशनमा प्रस्तुत आफ्नो गोप्य रिपोर्टमा ख्रुश्चोवले स्टालिनलाई “ खुनी , अपराधी , डाँकू , जुवाडे , रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाह , बेकुफ , बदमास “ आदि बताएर घोर विरोध तथा भर्त्सना गरेका थिए ।
सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) का दिन रुसमा लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । महान् अक्टोबर क्रान्ति एक युगान्तकारी परिघटना थियो । त्यसले विश्व सर्वहारावर्ग र आम विश्वभरका श्रमजीवी जनसमुदायमा उत्साह पैदा गरेको थियोे ।
तर ख्रुश्चोवले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमाथि प्रतिक्रान्तिको विजारोपन गरे । उनले रुसमा पुँजीवादको पुन:स्थापना गरे । यो ख्रुश्चोवको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गध्दारी थियोे । किनकि त्यही महाधिवेशनमा उनले “ शान्तिपूर्ण सहअस्तित्वलाई “ परराष्ट्र नीतिको आम लाइनको रुपमा प्रस्तुत गरे ।
आधुनिक संशोधनवादको सूत्रपात मुख्यत: ख्रुश्चोवबाट भयो । त्यसैले ख्रुश्चोवलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । उनले सम्पूर्ण जनताको पार्टी , सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिध्दान्त अबलम्बन गर्दै तथा वर्गसंघर्ष , सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरे ।
ख्रुश्चोवको उक्त प्रतिक्रान्तिकारी कदमले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गंभीर मतभेद र फूटको विजारोपण गर्यो । त्यसैको परिणामस्वरूप पछि गएर रुस र चीनका पार्टीका बीचमा गंभीर मतभेद शुरु भयो र अन्तमा विश्व कम्युनिस्ट आन्दोलन नै दुई फ्याकमा बाँडिन पुग्यो
त्यसै बेला रुसको बीसौं महाधिवेशन पश्चात् चिनियाँ कम्युनिस्ट पार्टीले ४ अप्रिल १९५६ मा “ सर्वहारा अधिनायकवादको ऐतिहासिक अनुभववारे “ र त्यसै वर्षको डिसेम्बरमा “ सर्वहारा अधिनायकत्वको ऐतिहासिक अनुभवबारे थप कुरा “ भन्ने दुईवटा दस्तावेजहरु प्रकाशित गर्यो ।
ती दुबै दस्तावेजहरुमा स्टालिनका विरुद्ध लगाइएका “ गैर कम्युनिस्ट “ आरोपहरुको खण्डन गरिएको थियो र स्टालिनको जीवनको विस्तृत विश्लेषण गरिएको थियोे र अक्टोबर क्रान्तिको बाटोको महत्त्व र सर्वहारा अधिनायकवादको आवश्यकता बितेको युगको कुरा थिएन । त्यही प्रक्रियामा ती दस्तावेजहरुका साथ माक्र्सवाद – लेनिनवादका क्रान्तिकारी सिध्दान्तहरुको रक्षाका लागि बीसौं महाधिवेशनका गलत र संशशोधनवादी सिध्दान्तका विरुद्ध भीषण वैचारिक संघर्ष शुरु भयो ।
त्यसकै सिलसिलामा सन १९५७ मा मास्कोमा कम्युनिस्ट र मजदुर पार्टीहरुको बैठक बस्यो । त्यो बैठकमा चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व स्वयम् कमरेड माओले गर्नु भएको थियोे ।
सन १९६० को नोभेम्बरम मास्कोमा ८१ देशका कम्युनिस्ट पार्टीहरुको बैठक भयो । त्यो बैठकको उद्श्ये सोभियत पार्टीको बीसौं पार्टी महाधिवेशनबाट विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका मतभेदहरुलाई सफा गर्नु र एकता मजबुत पार्नु थियो । तर ख्रुश्चोवले शुरुमै चिनको कम्युनिस्ट पार्टी माथि पर्चा मार्फत हमला गरेकोले बैठक तनावपूर्ण बन्न गयो । त्यसका बाबजुद पनि बहुमत पार्टीहरु एकताका पक्षमा जोडदार आग्रह गरेका कारण फूट भने भएन । र , सोभियत पार्टीद्वारा प्रस्तुत कैयौं संशोधनवादी नीतिहरु अस्वीकृत भए ।
सन १९६० को मास्को बैठकमा दुई लाइन , एकातिर क्रान्तिकारी माक्र्सवादी – लेनिनवादी र अर्कोतिर संशोधनवादी लाइनबीचको संघर्ष नै मुख्य विषय रहयो । त्यो बैठक रुसको संशोधनवादी लाइन मुख्य रुपले ( तर पूर्णरूपले होइन )/ पराजित भयो र माक्र्सवादी – लेनिनवादी लाइनको ठूलो विजय भयो ।
२२ सौ पार्टी महाधिवेशनपछि सोभियत कम्युनिस्ट पार्टीको फूटपरस्त नीति झनै नांगियो । रुसले अन्य देशलाई दिदै आएकोे सहयोग फिर्ता लिन शुरु गर्यो । त्यही क्रममा चीनसितको मित्रता , सहयोग र पारस्परिक सहायताको सन्धिलाई एकतर्फीरुपले उलंघन गर्दै गयो । चीनमा काम गरिरहेका १३६० सोभियत विशेषज्ञहरुलाई फिर्ता बोलायो । सोभियत संघले प्राविधिक र वैज्ञानिक विषयका सैकडौ सहायक संझौताहरुलाई एकतर्फीरुपले रद्दीको टोकरीमा फ्याँकिदियो । यहाँसम्म कि सोभियत संघले चीनको सिमामा उत्तेजनापूर्ण कार्वाही शुरु गर्यो र सिङ्गक्याङ्मा ठूलो मात्रामा तोडफोडको कार्वाही चलायो ।
आधुनिक संशोधनवादी निकिता ख्रुश्चोवको नेतृत्वमा सोभियत संघको कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यस प्रकारको फुटपरस्त र विघटनकारी कार्वाहीले गर्दा विश्व कम्युनिस्ट एकतामा नराम्ररी धक्का पुग्यो । त्यस पछि त्यो दुई शत्रुतापूर्ण क्याम्पमा बाँडिन पुग्यो ।
त्यस पछि माक्र्सवाद – लेनिनवादको महान् गौरवपूर्ण परम्पराका विरुद्ध सोभियत पार्टीको नेतृत्वमा देखा परेका आधुनिक संशोधनवादका विरुद्ध निर्मम र संझौताहिन वैचारिक संघर्ष अनिवार्य हुन गयो । सन १९६० मा कमरेड माओले ख्रुश्चोवी आधुनिक संशोधनवादका विरुद्ध भीषण वैचारिक संघर्ष चलाउनु भयो ।
सन १९७१ मा ख्रुश्चोवको मृत्यु भयो । तर रुसको पार्टीको संशोधनवादी चरित्रमा कुनै परिवर्तन आएन । निकिता ख्रुश्चोवदेखि मिखाइल गोर्वाचोवसम्म आइपुगेर सन १९९० मा पुगेर सोभियत मोडलको समाजवाद पतन हुन पुग्यो र पूर्णरूपमा पुँजीवादको पुनस्र्थापना हुन पुग्यो ।
ख्रुश्चोवी आधुनिक संशोधनवादको प्रभाव विश्वका कैयन देशहरूमा पर्न गयो । त्यसको प्रभाव नेपालमा पनि पर्यो । बिक्रम सम्बत २०१९ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ जनवादी क्रान्तिको कार्यक्रमको साटो “ “ राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम “ पारित गर्यो र तुलसीलाल अमात्यको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित गर्यो । त्सस पछि नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन पैदा भयो ।
चीनमा सन १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीले आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्यो । त्यही महाधिवेशनमा ल्यू शाओ चि र दङ श्याओ पिङले पुँजीवादी कार्यदिशा घुसाए र चीनमा ख्रुश्चोवी आधुनिक संशोधनवादलाई प्रवेश गराइयो ।
त्यस प्रकारको पृष्ठभूमिमा कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको रुसी संशोधनवादी अर्थात् ख्रुश्चोवी आधुनिक संशोधनवादका विरुद्धका वैचारिक संघर्षमा ऐतिहासिक र अद्वितीय योगदान रहयो ।
ख्रुश्चोवदेखि मिखाइल गोर्वाचोवसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फासीवादका रुपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कमरेड माओले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयं चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्र्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिध्दान्त प्रतिपादन गरि सन १९६६ देखि १९७६ सम्म महान् दस वर्षे सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो । सन १९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओको निधन भयो । त्यसको ठिक एक महिना पछि चीनमा पनि प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापना भयो ।
चीनको महान् नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आईपुग्दा दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीनवटै क्षेत्रमा माक्र्सवाद – लेनिनवादको विकासको गुणात्मक रुपमा तेस्रो र नयाँ चरणमा माओवादको विकास हुन पुगेको छ । र माओवादलाई आजको माक्र्सवाद – लेनिनवादका रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । किनकि आज माक्र्सवाद – लेनिनवाद – माओवाद नै विश्व सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ ।
माक्र्सवादको गुणात्मक विकास लेनिनवाद – माओवादमा भए झै संशोधनवादले पनि शास्त्रीय संशोधनवाद – आधुनिक संशोधनवाद हुदै दक्षिणपन्थी नवसंशोधनवादमा विकास गर्न पुगेको छ ।
यसरी आज दक्षिणपन्थी नवसंशोधनवाद सर्वहारा क्रान्तिका लागि मुख्य बाधक बन्न पुगेको छ ।
ख्रुश्चोवी आधुनिक संशोधनवादको दार्शनिक आधार बहुलवाद हो । संसदीय व्यवस्थालाई आफ्नो कार्यनीति बनाउँदै आएका नामधारी कम्युनिस्टहरु ख्रुश्चोवका चेला भएको पुष्टि भइसकेको छ । नेपाल , ब्राजिल , भेनेजुयला लगायतका संसदीय व्यवस्थालाई कार्यनीति बनाउँदै आएका नेपालका एमाले , माके लगायतका नामधारी कम्युनिस्ट पार्टीहरु क्रान्तिका बाधक बनिरहेका छन् र कम्युनिस्टहरूको नाममा भ्रम छरिरहेका छन् ।
नेपालको सत्ताधारी एमाले , माके लगायतका नामधारी कम्युनिस्ट पार्टी र तिनका नेताहरु ख्रुश्चोवका सक्कली चेला हुन् । यिनैले आज महान् नेपाली क्रान्तिका विरुद्ध भ्रमको खेती गरिरहेका छन् ।
बुढानिलकण्ठ नपा – २ , काठमाडौं
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।moolbato.com/from


