न्याय, समानता, स्वतन्त्रता र मुक्तिका कुरा गर्ने नेपालका कम्युनिष्ट पार्टीहरुको संख्या झण्डै एक दर्जनको हाराहारीमा छ । आफुलाई वैज्ञानिक समाजवाद र भौतिकवादी विश्वदृष्टिकोणका अग्रमोर्चाका अनुयायी ठान्नेहरु नै आखिर किन चिराचिराको अवस्थामा गुज्रिरहेकाछन् । के नेपालका कम्युनिष्टहरुलाई जुट्न भन्दा फुट्नमै आनन्द लाग्छ या कम्युनिष्टहरु जनताका सामु भन्छन् एक थोक र गर्छन् अर्को थोक आज साच्चै यो प्रश्न आफुलाई गरिब, निमुखा, उत्पिडितहरुको आवाज बोक्छौँ र सुन्दर समाजको निमार्ण गर्छौ भन्ने कम्युनिष्ट नेताहरुलाई तेर्सीएको छ ।
अक्सर विचारमा भन्दा पनि तत्कालिन फाईदाका लागि गरिएको एमाले र माओवादी केन्द्र बीचको एकता वास्तवमा वैचारिक र सैद्धान्तिक बन्न सकेन फगत ठूलो कम्युनिष्ट पार्टीको रुपमा गठन भए जस्तो भयो र निर्वाचनमा पनि ब्यापक जनताको मत पायो तर अन्तत जनताको अपेक्षा अनुसारको बन्न सकेन ।
गएको निर्वाचनमा जब एमाले र माओवादी केन्द्रबीच रातारात एकता भयो । नेपाली जनतामा एक प्रकारको सपना पलायो । लामो समयदेखि समानताको सुन्दर समाज बनाउँछौँ भन्ने दुई ठूला कम्युनिष्ट पार्टी बीच भएको एकतालाई जनताले ब्यापक रुपमा समर्थन गरे र झण्डै दुईतिहाई बहुमतको सरकार गठन गर्ने अवसर दिएको थिए । जनताको ब्यापक समर्थन (मत) पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार गठनसँगै यो पार्टीमा देखिएको अन्तर वहस भनौँ या अन्तरपार्टी कलह क्रमश सडक सम्म आयो । पार्टी भित्रै एकले अर्कालाई विधि र पद्धति नमानेको आरोप पत्यारोपमा सो पार्टीका एक अध्यक्ष एवम प्रधानमन्त्री केपि शर्मा ओलीले गएको पुष ५ गते संसदनै भंग गरिदिए । आफ्नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीले संसद भंग गरिदिएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघोषित रुपमा दुई खेमामा देखा प¥यो । पछिल्लो राजनीतिक घट्ना क्रमलाई हेर्ने हो भने अदालतको पछिल्लो फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पुन एमाले र माओवादी केन्द्रकै नाममा फेरि आआफ्नो स्थानमा बस्न पुगे । तर, एमालेमा भने आन्तरिक पार्टी कलह साम्य हुनुको अलवा बढ्दो क्रममा चुलिएको छ । अहिले पनि एमालेमा एकले अर्कालाई विधान र पद्धति मिचेको भन्दै आरोप लगाउने क्रम जारी रहेको छ । हिजो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुदाको अवस्थामा प्रचण्ड र माधव नेपालको एउटा समूह देखिन्थ्यो भने पार्टी अर्का अध्यक्ष ओलीको अर्को समूह रहेको थियो । आज एमालेमा फेरि हिजोकै पोल्टीकल इगोको रुपमा ओली र समूह र नेपाल समूह भनेर एक प्रकारको कित्ताकाटको अवस्था रहेको छ । गएको आम निर्वाचनमा एमाले र माओवादी केन्द्रका बीच भएको पार्टी एकता पछि जनताको कम्युनिष्टप्रतिको साथ र समर्थन सुस्तरी क्षण बन्दै गएको देखिन्छ ।लामो समयदेखिको राजनीतिक अस्थिरताको निकास र कम्युनिष्टहरुको जनपक्षीय नाराका कारण करिब दुई तिहाई बहुमतको सरकार पार्टी भित्रकै कलहका कारण आज दयनिय अवस्थामा पुगेको छ भने आज अदालतको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नरहेर एमाले र माओवादी केन्द्र बन्न पुगेको छ जो हिजो पार्टी एकता हुनु अघिकै अवस्था थियो । तर, आज एमाले भित्र जुन रुपमा ओली समूह र नेपाल समूहका बीच आरोप पत्यारोपसँगै एकले अर्कालाई विधान र विधि मिचेको नाममा आआफ्ना समर्थनका कमिटिहरु बनाउने काम भईरहेको छ यसले निश्चित रुपमा कम्युनिष्ट आन्दोलनप्रति हिजोका दिनमा जनताले दिएको ब्यापक साथ र समर्थनलाई टेवा पुग्ने देखिदैन । नेपालका कम्युनिष्टहरुको विगतदेखि वर्तमान सम्मको इतिहाँसलाई नियाल्ने हो भने उनीहरु जुट्नमा भन्दा फुट्नमै अग्रसर भएको पाईन्छ । पछिल्लो समयमा नेपाली जनताले दिएको ब्यापक समर्थनलाई कम्युनिष्टलाई काम गर्ने अवसर अर्थात जिम्मेवारी, अवसर र चुनौतीको रुपमा यदि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अगुवा नेताहरुले मनन गरेका थिए भने उनीहरुका लागि यो महान अवसर थियो ।तर, सरकार गठनको केही दिन देखिनै शुरु भएको अन्तरकलहले अन्तत उनीहरुलाई फेरि कम्युनिष्टहरु फुट्न रमाउँछन् भन्ने कुराकै पुष्टि जस्तो गरेको छ ।
न्याय, समानता, स्वतन्त्रता र सुन्दर समातामूलक समाजको मन्त्र जप्ने कम्युनिष्टहरु नै टुट,फुट, विभाजनको बाटो उन्मूख हुनुले र जनताले दिएको काम गर्ने अवसरलाई समेत जिम्मेवारी बोधका साथ पुरा गर्न नसक्नुले आगामी दिनमा जनताले कम्युनिष्टलाई नै किन भोट दिने भन्ने प्रश्न समेत उठेको छ र यो स्वभाविक पनि हो ।सबै भन्दा धेरै वैज्ञानिक दर्शनका कुरा गर्ने कम्युनिष्टहरु नै पुरातन सोचबाट माथि उठ्न नसक्नु र विचार सिद्धान्त भन्दा पनि आफु शक्तिशाली बन्ने होडमा महत्काँक्षी बन्ने होडकै कारण यो अवस्था आएको राजनीतिक विश्लेषकहरु बताउँछन् । जनवादी केन्द्रीयता र सामूहिकतको कुरा गर्ने कम्युनिष्ट नेताहरु नै ब्यक्तिवादी सोचबाट उम्कन नसक्नु र सानो समूहमै भए पनि आफु नेता नै बन्नु पर्ने ढिपिका कारण मुख्यत कम्युनिष्ट पार्टीमा विभाजन आएको एक थरि विश्लेषकहरुको जिकिर छ । हुन पनि नेपालका कम्यनिष्टहरुले जति सुकै विचार, सिद्धान्त, विधि र पद्धतिको कुरा गरेर पार्टी विभाजनको दोष अर्काका टाउकामा थोपरे पनि भित्रि चुरो कारण भनेको जँगाकै लडाई देखिन्छ ।अहिले एमालेमा देखिएको मुख्य समस्या भनेको पनि एकले अर्काको असतित्वलाई स्विकार्न नसक्नु र आफु शक्तिशाली बन्न खोज्नु नै हो भन्ने देखिन्छ । जे भए पनि हिजोका दिनमा एमाले र माओवादी केन्द्रका बीच भएको पार्टी एकता र एकतापछिको जनताको चुनावी समर्थन अनि जनताका सपनालाई पुरागर्न जसरी जनताले ठूला भनिएका दुई कम्युनिष्ट पार्टीलाई ऐतिहासिक जिम्मेवारी सुम्पेका थिए र जुन अभिभारा दिएका थिए त्यो अवसरलाई भने उनीहरुले पुरागर्न सकेनन् । अदालतको फैसला पछि पुरानै ठाउँमा आईपुगेको एमाले भित्र समेत हिजो भन्दा आज चरम विवाद बढेको देखिन्छ । समग्रमा लोकतन्त्रमा पार्टी विभाजन आफैमा शुभ होइन त्यसमाथि पनि जनताले भरोसा गरेको पार्टी भित्र देखिएको यो कलहलाई पक्कै पनि कम्युनिष्टहरुले भन्ने गरेको छलफलमा स्वतन्त्रता र काममा एक रुपमा त भन्ने उनीहरुकै भनाईसँग पनि कतै पनि मेल खाएको देखिदैन ।
नेपालका दुई ठूला कम्युनिष्ट पार्टी बीच त्यो बेला (एमाले र माओवादी केन्द्र बीचको एकता) भएको एकताले जनतामा एक प्रकारको सपना जन्मिएकै हो । शोषित पिडित, निर्धा निमुखा र गरिबको पक्षमा वकालत गर्नेहरुको सरकारले केही त गर्ला कि भन्ने अनुमान धेरैमा थियो । र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र सरकारलाई एउटा ठूलो अवसर समेत आएको थियो ।तर, माल पाएर चालै नपाए जस्तो भयो । अब त आम जनतामा कम्युनिष्टलाई भोट दिएर के होला र ? भन्ने सोच आउनुलाई अन्यथा मान्न सकिदैन । टुट,फुट र विभाजन धेरै अनि एकता कम भएको इतिहाँस बोकेका नेपालका कम्युनिष्ट पार्टी र यसका नेताहरुले अब पनि चेत खाएनन् भने भोलीका दिनमा हिजो आम जनतामा कम्युनिष्टप्रति जुन लगाव र थोरै भए पनि आशा र भरोसा थियो त्यो टुट्न सक्दैन भन्न सकिदैन ।यसर्थ बेलामा एक फेर हामी अर्थात नेपालका कम्युनिष्ट कता जादैछौँ भनेर सोच्ने बेला आएन र ?
0 20 4 minutes read


