
अप्रील 16, 2021
सिलगढी: राज्यमा पाँचौ चरणको मतदान भोलि शनिवार दार्जिलिङ, कालेबुङ र जलपाइगढी जिल्लमा हुने भएको छ। यसभन्दा अघि मतदानमा खटिएका कर्मचारीहरूले आज सिलगढी कलेजको डीसीआरसीबाट ईभीएम (इलेक्ट्रिकल भोटिङ मशिन) लिएर विभिन्न मतदान केन्द्रहरूको लागि प्रस्थान गरिरहेका छन्। उक्त डीसीआरसी सेन्टरबाट सिलगढी, फाँसीदेवा अनि मतिगढा-नक्सलबारी विधानसभा क्षेत्रहरूको लागि मतदान कर्मचारीहरूलाई ईभीएम दिइरहेका छन्। आज बिहानदेखि नै मतदान केन्द्र प्रभारी अनि प्रिसाइडिंग अफिसरहरूको भीड लागेको देखियो। त्यहाँबाट ईभीएम लिएर मतदान केन्द्रहरूमा जाने क्रम आज जारी छ।

जानकारी अनुसार, मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुनेछ। अर्कोतिर, मतदान कर्मीहरूले पाँचौ चरणको मतदान शान्तिपूर्ण हुने आशा साचेका छन् किनभने यसभन्दा अघि शीतलकूची सहित विभिन्न स्थानमा सङ्घर्ष भएको मामिला सामु आएको थियो। यसको साथै फेरि कोरोनाको सङ्क्रमण बढेकोले मतदान कर्मीहरू चिन्तित देखिन्छन्। आज ईभीएम ल्याउनको लागि सिलगढी कलेज पुगेका मतदान कर्मीहरूको अधिक भीड देखेर केही मानिसहरू भयभित बन्न पुगेका छन्।
मङपुमा तीनजना कोरोना संक्रमित, सतर्क बस्ने अपील

अप्रील 16, 2021
मङपु : दार्जिलिङ र कालेबुङ जिल्लामा पाँचौँ चरणको मतदान हुन ठिक अघि फेरि कोरोनाको संक्रमण लगातार बढ्दै गइरहेको छ। यसै क्रममा दार्जिलिङ जिल्लाको रङ्ली-रङ्लियट ब्लक अन्तर्गत पर्ने मङपुमा तीनजना कोरोना संक्रमित भएको बताइएको छ। तकदाह टाक्स फोर्सका सदस्य एवम् स्पन्दन संस्थाका संयोजक किरण पाख्रीनले मङपुमा तीनजना कोरोना संक्रमित भएको बताएका छन्। तिनले मङपुका सबै मानिसहरूलाई यसबारे सजक बसिदिने साथै सरकारद्वारा जारी कोरोना सम्बन्धी निर्देशलाई कठोर रूपमा पालन गरिदिने अपील गरेका छन्। तिनले भोलि पाँचौँ चरण अन्तर्गत सम्पन्न हुने चुनाउको लागि मतदान केन्द्रहरूमा जाँदा सबैले अनिवार्य रूपमा माक्स लगाइदिने साथै सेनिटाइजको प्रयोग गरिदिने पनि निवेदन गरेका छन्।
भोलि दार्जिलिङमा मतदान, चुनाउ कर्मीहरू आ-आफ्नो मतदान केन्द्रमा प्रस्थान

अप्रील 16, 2021
दार्जिलिङ : पाँचौँ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन हुने चुनाउको प्रचार समाप्त हुनसाथ दार्जिलिङ विधानसभा आसनका प्रार्थीहरूलाई लिएर विभिन्न अड्कलबाजी शुरू भएको देखिन्छ। विशेष गरेर यसपल्ट दार्जिलिङ आसनबाट 9 जना विभिन्न पार्टी तथा निर्दलीय उम्मेद्वारहरू चुनाउ मैदानमा खडा भएका छन् भने तीमध्ये पनि गोजमुमो विनय खेमाका प्रार्थी केशवराज पोख्रेल, गोजमुमो बिमल खेमाका प्रार्थी पीटी ओला र भाजपाका उम्मेदवार निरज जिम्बामाझ कठोर प्रतिस्पर्धा हुनसक्ने मानिसहरूले लख काटेका छन्। यसपल्ट दार्जिलिङ विधानसभा क्षेत्रमा मोठ मतदाताहरूको संख्या 2 लाख 41 हजार 6 सय 7 जना छन्। तीमध्ये 1 लाख 18 हजार 9 सय 48 जना पुरुष अनि 1 लाख 22 हजार 6 सय 57 जना स्त्री तथा 2 जना तेस्रो लिङ्गी सामेल छन्। चुनाउ आयोग कार्यालय सूत्रमार्फत् थाहा लागेअनुसार दार्जिलिङमा 3 सय 49 पुलिङ स्टेसनहरू छन् जसमध्ये 28 वटा सहायक केन्द्र रहेको छ।
विशेष गरेर दार्जिलिङ विधानसभा क्षेत्रमा पर्ने 3 वटा सबैभन्दा टाढो तथा दुर्गम ठाउँमा पर्ने पी-2 मतदान केन्द्रहरूको निम्ति चुनाउ कर्मीहरू दार्जिलिङबाट हिजो नै प्रस्थान गरिसकेका छन् भने सम्भवत् आज बेलुकीसम्म तिनीहरू आ-आफ्नो मतदान केन्द्रमा पुगिसक्ने बताएका छन्। यसको साथै दार्जिलिङ जिल्लाका अन्य मतदान केन्द्रहरूको लागि आज बिहानदेखि चुनाउ कर्मीहरू दार्जिलिङबाट प्रस्थान गरिरहेका छन्। अर्कोतिर, बढ्दो कोरोनाको संक्रमणलाई ध्यानमा राखेर चुनाउ निर्वाचन आयोगले मतदाताहरूलाई सचेत गराउनको साथै मतदान केन्द्रभित्र पस्नअघि कतिपय प्रोटोकलहरू पालन गर्नुपर्ने अनिवार्य रहेको बताइएको छ। जसमा मतदाताहरूले मतदान गर्न जाँदा माक्स लगाएकै हुनुपर्छ। मतदान केन्द्रभित्र पस्दा राम्रोसित हात सफा गरेर सेनिटाइज गर्नुपर्नेछ भने मतदाताहरूको तापमान स्वस्थ्य पर्यवेक्षकहरूद्वारा जाँच गरिने भएको छ। यदि कसैको तापमान सामान्यभन्दा अधिक छ भने उसलाई मतदाताहरूको लाइनमा बस्ने अनुमति नदिएर मतदानको निम्ति एउटा टोकन दिइनेछ जसले एउटा निर्दिष्ट समयमा आएर मतदान गर्न सक्नेछन्। यस्ता व्यक्तिहरूको लागि भिन्नै कोभिड प्रोटोकल राखिएको बताइएको छ। यसको साथै मतदान केन्द्रभित्र दुई गजको दूरी हुनुपर्ने नितान्त आवश्यक रहेको छ।
कोरोना संक्रमण बढ्दैछ सिलगढीमा, सतर्कता नअप्नाए विकराल रूप लिइने सम्भावना

अप्रील 16, 2021
सिलगढी : सिलगढीमा कोरोना भाइरसको संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ। बितेको केही दिन यतादेखि सिलगढीमा रेकर्ड संख्यामा मानिसहरू फेरि कोरोनाले संक्रमित भइरहे तापनि यहाँका मानिसहरूमा स्वास्थ्यलाई लिएर सतर्कता भने त्यति देखिएको छैन। विशेष गरेर सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी निर्देशहरूको मानिसहरूले पालन गरेका छैनन्। सिलगढीको कुरा गर्नुपर्दा यहाँका मानिसहरूले सामाजिक दूरीको पालन नगरेको साथै धेरैजसो मानिसहरू माक्स नलगाई जताततै हिँडिरहेको देखिन्छन्। हिजो बिहिबार दार्जिलिङ जिल्लामा 111 जना मानिसहरू कोरोनाले संक्रमित भएका थिए भने तीमध्ये 49 जना सिलगढी नगरनिगम अन्तर्गत पर्ने दार्जिलिङ जिल्लाका वासिन्दा हुन्। यसबाहेक दार्जिलिङ नगरपालिका क्षेत्रमा तीनजना, सुकुनामा एकजना, मतिगढा ब्लकमा 25 जना, खोरीबारी ब्लकमा 1 जना, नक्सलबारी ब्लकमा 14 जना अनि फाँसीदेवा ब्लकमा 18 जना कोरोना भाइरसले संक्रमण भएको पुष्टि भइसक्दा पनि अझसम्म मानिसहरूले यसलाई लिएर सतर्कता नअप्नाइएको देखिन्छ। विशेष गरेर विधानसभा चुनाउलाई लिएर गरिएको ठुल्ठुला जनसभा, र्याली, स्ट्रीट मीटिङ लगायत विभिन्न महोत्सवहरूमा पनि खुल्ला रूपमा मानिसहरूले सामाजिक दूरीको पालन नगरेको साथै अधिकजसो मानिसहरूले माक्स नलगाएकोले पनि कोरोना संक्रमण अदृश्य रूपमा बढिरहेको जानकारहरू बताउँछन्। यति मात्र नभएर कोरोना भाइरसले संक्रमित भएर मुर्शिदावाद शमशेरगञ्ज विधानसभा केन्द्रबाट कङ्ग्रेसका उम्मेद्वार रेजाउल हक उर्फ मिन्टु विश्वासको मृत्यु भइसकेको छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर सिलगढीका सबैजना मानिसहरूले सरकारद्वारा निर्देशित कोरोना संक्रमणलाई लिएर सतर्कता अप्नाउनु धेरै आवश्यक देखिन्छ नत्र यसले आउँदो दुई-चार दिनमा अझ झन् विकराल रूप धारण गर्ने कुरा लगभग निश्चित छ। अर्कोतिर, बङ्गालभरिमै पनि लगातार बढ्दो कोरोना संक्रमणको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ आयोगलाई मोठ 8 चरणमा हुने बङ्गाल विधानसभाको अब रहल सबै चरणको मतादान एकै दिनमा गराउने अपील समेत गरिसकेकी छन्।
सिलगढीमा दम्पतिको झुन्डिएको अवस्थामा शव उद्धार

अप्रील 16, 2021
सिलगढी : सिलगढीको 32 नम्बर वार्डको नन्दीग्राममा दम्पतिको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। मृत दम्पति नगेन बर्मन र सुशीला बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज स्थानीय महिलाले इलाकाको एउटा मैदान नजिकको रुखमा दुईजनाको झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनास्थलदेखि 100 मिटर टाढामा तिनीहरूको घर रहेको साथै घरको पारिवारिक आर्थिक स्थिति राम्रो नभएकोले गर्दा नै सम्भवतः आत्महत्या गरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।siliguritimes/from,india



