खबर

पहाडको तीनै आसनमा चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न

अप्रील 18, 2021
सिलगढी : पश्चिम बङ्गालको विधानसभा चुनाउको पाँचौँ चरण अन्तर्गत हिजो शनिबार भएको विधानसभा चुनाउ पहाडको तीनैवटा विधानसभा आसन लगायत दार्जिलिङ जिल्लाका अन्य ठाउँहरूमा शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न भयो। विशेष गरेर पहाडको तीन आसन क्रमैले दार्जिलिङ, कालेबुङ र खरसाङ आसन अन्तर्गत पर्ने बुथहरूमा कहीँकतै पनि अप्रिय घटना नघटेको तथा शान्तिपूर्वक निष्पक्ष ढङ्गमा चुनाउ सम्पन्न भएको जानकारी प्राप्त भएको छ। चुनाउ अधिकारी मार्फत् थाहा लागेअनुसार दार्जिलिङ विधानसभा क्षेत्रको 349 वटा मतदान केन्द्रहरूमा 67.32 प्रतिशत मतदान सम्पन्न भयो। मतदान अवधि सबै बुथहरूमा कोभिड 19-को संक्रमणलाई ध्यानमा राखेर सरकारद्वारा निर्देशित प्रोटोकललाई ध्यानमा राखेर मतदान गराइएको थियो। दार्जिलिङ विधानसभा क्षेत्रका मोठ 349 वटा मतदान केन्द्रहरू रहेको थियो भने मोठ 2 लाख 41 हजार मतदाताहरू रहेका छन्। दार्जिलिङ विधानसभा आसनबाट 9 जना उम्मेद्वारमाझ यसपल्टको चुनाउ प्रतिस्पर्धा भएको थियो भने जसमा गोजमुमो 1 का प्रार्थी पीटी ओला, गोजमुमो 2 का प्रार्थी केशवराज पोख्रेल र भाजपा उम्मेद्वार निरज जिम्बामाझ कठोर प्रतिस्पर्धा हुने राजनैतिक पर्यवेक्षकहरूले लख काटेका छन्। प्राप्त जानकारीअनुसार साँझ 6.30 बजेसम्म दार्जिलिङमा 67.32 प्रतिशत, खरसाङमा 72.92 प्रतिशत र कालेबुङमा 69.05 प्रतिशत मतदान सम्पन्न भएको जानकारी प्राप्त भएको छ भने मतदानको अन्तसम्म अझ यी आसनमा केही प्रतिशत मतदान भएको बताइएको छ।
चुनाउ समाप्त हुनसाथ डाबग्राम-फुलबारीको पोड़ाझोड़ा अशान्त


अप्रील 18, 2021

सिलगढी : बङ्गाल विधानसभा चुनाउको पाँचौ चरण अन्तर्गत हिजो मतदान समाप्त भएपछि रातिको समय डाबग्राम-फुलबारी क्षेत्रमा केही झमेला सृजना भयो। यसलाई लिएर आज बिहानैदेखि सिलगढीको नौकाघाट संलग्न पोड़ाझोड़ामा अशान्तको माहौल देखापर्यो। घटनाक्रमअनुसार हिजो डाबग्राम-फुलबारी केन्द्रको पोड़ाझोडामा भाजपा कार्यकर्तामाथि हमला गरेको भाजपाको आरोप रहेको छ। डाबग्राम-फुलबारी विधानसभा आसनका भाजपा प्रार्थी शिखा च्याटर्जी आज पार्टीका कार्यकर्ताहरूको साथमा घटनाबारे जानकारी लिन उक्त इलाकामा गएकी थिइन्। अर्कोतिर, भाजपा प्रार्थीले मानिसहरूलाई साथमा ल्याएर धम्की दिएको इलाका निवासीहरूले आरोप लगाएका छन्। उक्त इलाकामा स्थिति गम्भीर बन्न पुगेको थाहा पाएपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर स्थितिलाई साम्य गरेको बताइएको छ। यसको साथै भाजपा प्रार्थी शिखा च्याटर्जीले एनजेपी थानामा गएर पुलिस अधिकारीसित घटनाबारे कुराकानी गरिन्। हिजो राति चुनाउ समाप्त भएपछि भाजपा कार्यकर्तामाथि हमला गर्नको साथै कुटपीट समेत गरेको तिनले बताइन्। अर्कोतिर, भाजपाले तृणमूलका नेता तथा कार्यकर्ताहरूमाथि हमला गरेको तृणमूलको आरोप रहेको छ।

फुलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार


अप्रील 18, 2021

राजगञ्ज : राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायतको पूर्व धनतला गाउँमा आज एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति 55 वर्षीय जगबन्धु मण्डलको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तिनी प्रत्येक दिन झैँ खाना खाएर आफ्नो कोठामा सुत्न गएका थिए। आज बिहान परिवारका सदस्यले कोठामा झुन्डिरहेको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button