‘समाचार र विचारको
साझा चौतारी’






केकीलाई कोरोना संक्रमण, ‘घिन्ताङ’ छायांकन पोस्टपोन्ड


फिल्मीखबर, काठमाडौं, 2021/04/20

नेपालमा कोरोनाको संक्रमण बढ्न थालेपछि कलाकारहरु पनि यसको चपेटामा पर्न थालेका छन् । सोमवार हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनालाई कोरोना पुष्टि भएको थियो । यस्तै, अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना संक्रमण भएको छ । फिल्म ‘घिन्ताङ’ को सुटिङमा निस्कनका लागि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना पोजेटिभ देखिएपछि केकी सोमवारबाट होम क्वारेन्टाइनमा छिन् । उनमा कोरोनाको कुनै खालको लक्षण देखिएको छैन । यसअघि पनि उनलाई कोरोना संक्रमण भएको थियो । उनलाई कोभिड भएपछि फिल्म ‘घिन्ताङ’ को छायांकन पोस्टपोन्ड गरिएको छ । केकीले एक हप्तामा पुनः पीसीआर परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए छायांकन सुरु गर्ने निर्देशक दीपक श्रेष्ठले बताए ।

यो फिल्म अभिनेत्री हेरफेरका कारण चर्चामा छ । सबैभन्दा पहिला फिल्ममा अभिनेत्री एलिजा गौतम अनुबन्ध भएकी थिइन् । मुहूर्तको एक हप्ता अगाडि उनले पिता विरामी भएको कारण देखाउँदै फिल्म छाडेपछि अभिनेत्री लक्ष्मी बर्देवाको प्रवेश भएको थियो । तर, उनले पनि अर्को फिल्मसँग सेड्युल जुध्ने भएपछि ‘घिन्ताङ’ छाडिन् । यसपछि फिल्ममा केकी अनुबन्ध भएकी हुन् ।

साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको चर्चित कथा ‘मासुको मुल्य’ मा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेता गौरव पहारीको पनि मुख्य भूमिका रहनेछ । नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहने फिल्मको प्रस्तुतकर्तामा राज लामा रहेका छन् । एक समयका सफल निर्देशक दीपक श्रेष्ठले ‘घिन्ताङ’ बाट सात वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्