अप्रील 25, 2021
सिलगढी : सिलगढी थाना पुलिसले आज यहाँको टिकियापाडा, महाबीरस्थान, नयाँ बजार लगायत विधान मार्केटमा मास्क नलगाउनेहरूविरुद्ध अभियान चलाए। पुलिसले आज बिहानैदेखि मास्क नलगाई बजारमा घुमफिर गर्ने मानिसहरूलाई पक्राउ गर्यो। उक्त अभियान अवधि सिलगढी महकुमाशासक प्रियदर्शिनी एस, सिलगढी पुलिस कमिश्नरेटका डीसीपी जय टुडु लगायत पुलिसका उच्च अधिकारीहरू उपस्थित थिए। पुलिसले आज सिलगढीको महाबीरस्थान लगायत विभिन्न ठाउँको बजारहरूमा मास्क नलगाई बजार गर्न आउने मानिसहरूलाई पक्राउ गर्नको साथै धेरैजना मानिसहरूलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्नेबारे सचेत गरायो। पुलिसद्वारा यस प्रकारको अभियान लगातार जारी राख्ने बताइएको छ। स्मरण रहोस्, हिजो नवान्नबाट एउटा निर्देशिका जारी गरेर मास्क नलगाई सडकमा घुमफिर गर्ने मानिसहरू देखे तिनीहरूविरुद्ध कानुनी कार्वाही गर्ने राज्य पुलिस लगायत कोलकाता पुलिसलाई निर्देश दिइएको थियो। यसैले पुलिसले आज बिहानैदेखि मास्क नलगाई घुमफिर गर्नेहरूविरुद्ध अभियान शुरू गरेको हो।
गोजमुमो नेता सतीश पोख्रेलप्रति गाउँलेहरूद्वारा आभार प्रकट
अप्रील 25, 2021 
बिजनबारी: आफ्नो निजी कोषबाट बिजनबारीको दुर्गम गाउँलाई नि:शुल्क रूपमा जेसीबी प्रदान गरिदिएकोमा मझुवा ग्राम अधिनस्थ लगुरदाङ खोलेङटारका स्थानीय मानिसहरूले गोर्खा जनमुक्ति मोर्चा विनय खेमा उपाध्यक्ष सतिश पोख्रेललाई आभार प्रकट गरेका छन। आज बिहानै गाउँलेहरू पोख्रेलको निजि निवास स्थानमा पुगेर तिनलाई आभार प्रकट गरे। पोख्रेलकै सहयोगले गर्दा गाउँको मानचित्र नै परिवर्तन भएको स्थानीय मानिसहरूले बताउँदै तिनीप्रति आभार प्रकट गरेका छन्। अर्कोतिर, यस अवसरमा आफु जनताको सेवा गर्छु भन्ने सोंचमा राजनीतिमा आएकोले सकेसम्म जनमानसमा पुगेर तिनीहरूको समस्या समादान गर्ने प्रयास गर्नेछु भनी उपाध्यक्ष पोख्रेलले बताए। स्मरण रहोस्, पोख्रेलले आफ्नो निजी कोषबाट उक्त गाउँमा लगभग दुई हप्तासम्म जेसीबी प्रदान गरेका थिए।
जलपाईगढीको रङ्धामाली इलाकाबाट मरेको चितुवा उद्धार
अप्रील 25, 2021

जलपाईगढी : जलपाईगढीको रङ्धामाली इलाकाबाट एउटा मरेको चितुवा उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान श्रमिकहरूले बेलाकोवा रेञ्जको रङ्धामाली इलाकाको चियाकमानमा मरेको वयस्क चितुवा देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बोदागञ्ज बिट अफिसका वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको चितुवा उद्धार गरेर बिट अफिसमा लग्यो। के कारणले गर्दा उक्त चितुवा मरेको हो भन्नेबारे थाहा लागेको छैन।siliguritimes/from,india



