
सबिना देवकोटा / कृषि विद्यार्थी
काठमाडौँ, २ जेठ । नेपालमा वार्षिक करिब १५ मेट्रिक टन प्याजको बीउ उत्पादन हुने गरेको पाइन्छ तर नेपालको कुल प्याज खेती हुने क्षेत्रफलमा करिब दुई सय नौ मेट्रिक टन गुणस्तरीय प्याजको बीउ आवश्यक पर्छ र अझ प्याजको क्षेत्रफल विस्तार गर्ने हो भने सोही अनुपातमा अझै धेरै बीउ आवश्यक पर्छ र यो माग स्वदेशी उत्पादनले अहिलेको अवस्थामा धान्न मुस्किल छ ।
नेपालमा प्याज खेतीको अवस्थाको विश्लेषण गर्दा विगत ५ वर्षमा प्याजको उत्पादन वार्षिक २० देखि २१ हजार हेक्टर क्षेत्रफलमा करिब दुई लाख ५० हजारदेखि तीन लाख मेट्रिक टनको हाराहारीमा हुँदै आएको सरकारी तथ्यांकहरूमा पाइन्छ। यसरी उत्पादन भएको प्याजको औसत ४० रुपैयाँ प्रति केजीका दरले मूल्यमा हिसाब गर्ने हो भने करिब नौ अर्बको प्याज स्वदेशमै वार्षिक रुपमा उत्पादन भएको देखिन्छ।
नेपालमा तराईका जिल्लाहरू विशेषगरी सर्लाही, बारा, पर्सा, सिराहा, सप्तरी, महोत्तरी, रौतहट लगायत जिल्लाहरूमा हिउँद याममा प्याजको खेती गर्ने गरिएको छ। तर यो उत्पादन नेपालमा प्याजको वार्षिक मागको करिब ३५ देखि ४० प्रतिशत मात्र हुन आउँछ। यसरी हेर्दा नेपालमा आवश्यक मध्ये ६० देखि ६५ प्रतिशत प्याज आयातमा निर्भर रहेको देखिन्छ।
रैथाने बालीहरू परापूर्व कालदेखि खेती गरिँदै आएका बालीहरू हुन । यी बालीहरू वैधानिक रुपमा उन्मोचन तथा दर्ता भएका हुदैनन् । धेरै पहिले जङ्गली रूपमा रहेका यी बालीहरू अहिले पनि खेती गरिदै आएका छन् । हाम्रो गाउँघरमा यस्ता बालीहरू प्रशस्त हुन्छन् जसलाई हामीले उन्नत बाली जत्तिको महत्त्व दिएका छैनौँ । मुख्यतः यस्ता बालीहरू प्राङ्गारिक र पोषणयुक्त हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले महत्त्वपूर्ण हुने अनुसन्धानले समेत पुष्टि गरिसकेको छ ।
यसका साथ साथै रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसमजस्तै– सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्, जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् भने देशका खाद्य तथा पोषण सुरक्षाका लागि वरदान मानिन्छन् ।
हरेक ठाँउ तथा भुगोलमा पाइने रैथाने बालीहरू फरक प्रकारका हुन्छन् । रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाईने गर्दछन् जस्तै नेपालको उच्च तथा मध्य(भेगीय जिल्लाहरू मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, डोटी, बैतडी, पर्वत, गोरखा, रामेछाप, काभ्रे तथा दोलखालगायतका जिल्लामा रैथाने बाली छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, प्याज, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।
केही वर्ष अगाडि निश्चित जातमा मात्र सिमित प्याजको खपत पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइन्छ । नेपाली भान्छाहरू आजकाल प्रायः भान्सामा प्याज र टमाटर बिना करिब अपूरो हुने स्थितिमा छन् । नेपालमा प्याज खेतीको अवस्थाको विश्लेषण गर्दा विगत ५ वर्षमा प्याजको उत्पादन वार्षिक २० देखि २१ हजार हेक्टर क्षेत्रफलमा करिब दुई लाख ५० हजारदेखि तीन लाख मेट्रिक टनको हाराहारीमा हुँदै आएको सरकारी तथ्यांकहरूमा पाइन्छ ।
यसरी उत्पादन भएको प्याजले देशको वार्षिक मागको करिब ३५ देखि ४० प्रतिशत पुर्ति गर्छ । भने, बाँकी ६० देखि ६५ प्रतिशत प्याज आयातमा निर्भर रहेको देखिन्छ । यो अवस्थामा रैथाने अर्थात प्याजको मौलिक जात विकास गरी गुणस्तरीय बीउ उत्पादन तथा प्रविधि विकास गर्नु नै आजको आवश्यकता हो ।
बैतडी रैथाने प्याज
‘बैतडी लोकल’ नामको रैथाने प्याज बैतडी जिल्लामा अत्यन्त लोकप्रिय रहेको छ। यो प्याजको जात आधिकारिक दर्ता सन २०२० मा राष्ट्रिय बीजद्वारा समितिले गरिसकेको छ । यो बाली यहाँका किसानहरूले सामान्यतया असोज १५ देखि कार्तिकसम्ममा बेर्ना जमाउने गरेका छन् र यसको ठीक एक महिनापछि मुख्य जमिनमा स्थान्तरण गर्ने गरेको पाईन्छ। यो बाली भित्राउनको लागि करिब ५ महिना समय लाग्ने यहाँका किसानहरू बताउँछन् । बेर्ना हुर्काउने समयमा रातो कमिलाको प्रकोप हुने र अन्य कुनै रोग तथा किरा समेत नलाग्ने स्थानीय किसान श्रीराम बोहराको भनाइ छ ।
बैतडी लोकल जात बैतडी र समान मौसम तथा भुगोलमा व्यावसायिकिकरण गरि देशमा बढ्दो प्याजको माग पुर्ति गर्न सकिन्छ । यो गाने बालीको बोटमा करिब १ किलो सम्म फल्ने स्थानिय किसान श्रीराम बोहोरा बताउँछन्। खानाको लागि स्वादिलो, खेती गर्दा पनि प्राङ्गारिक रूपमा सजिलै गर्न सकिने, विषादीको प्रयोग बिना नै उत्पादन राम्रो हुने, थोरै ठाउँमा धेरै लगाउन सकिने भएकाले यहाँका स्थानीयले उन्नत जातभन्दा यस्तो प्रचुर मात्रामा लगाउने गर्दछन् ।
“धेरै दशक अगाडि यो बाली स्थानीय जङ्गलहरूमा पाइन्थ्यो”, उनी भन्छन् । पछि किसानहरूले खेतमा ल्याएर लगाउन थालेपछि यसको महत्त्व बढ्दै गएको किसान बोहरा बताउँछन् । यसको गानो ठुलो हने, रोग प्रतिरोधी क्षमता बढी भएको र उन्नत प्याजको तुलनामा स्वादिष्ट भएकै कारण हिजो आज यहाँका किसानहरूको रोजाइ बैतडी लोकल प्याज नै रहेको किसान बोहोरा बताउँछन् ।halokhabar.com/from



