
११ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै झापाकोमेचीनगर एक हप्ताका लागि सिल गर्न प्रस्ताव गरिएको छ ।
नगरपालिकामा सोमबार बसेको कोभिढ १९ संक्रमण नियन्त्रण समितिको बैठकले कम्तिमा एक हप्ता नगर सिल गर्ने प्रस्ताव गरेको कार्यवाहक नगर प्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।
कार्यवाहक प्रमुख उप्रेतीका अनुसार समितिको वैठकले नगर कार्यपालिका समक्ष वैठकको प्रस्तावलाई निणायार्थ प्रस्तुत गर्न सिफारिस गरेको छ ।
उप्रेतीका अनुसार वैठकबाट प्राप्त सुझाव तथा प्रस्तावहरुलाई मंगलबार बस्ने कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय गर्नेछ । ।
प्रदेश सांसद, मेचीनगरका राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रमुख, रेडक्रस प्रतिनिध, वाणिज्य संघ पदाधिकारी, प्रशासन प्रमुुखलगायतको उपस्थितिमा बसेको बैठकले नगरमा औषधिवाहेकका सबै सेवाहरु बन्द गर्न प्रस्ताव गरेको छ ।
जसमा खाद्य सामग्रीका पसलदेखि वित्तीय संस्थालगायत सबै पसल व्यवसाय बन्द गर्न प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिइन् । दुग्ध जन्य पदार्थका पसलहरु भने दिनको केही घण्टा खुल्ला गर्न दिने गरीको प्रस्ताव गरिएको छ । त्यस्तै विश्वविद्यालय तथा कक्षा ११ का परीक्षा भने सुचारु हुनेछन् ।
नगरमा मंगलबारबाट सुरु हुने खोप अभियानलाई भने प्रशासनको सहजीकरणमा प्रभावकारी ढंगमा सञ्चालन गर्दै लानेसमेत निर्णय भएको छ ।
झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी यसअघिनै सिल गरिएका छन् ।
त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै गौरादह नगरपालिकाले मंगलबारबाट, बिर्तामोड नगरपालिकाले समेत साउन १३ गते बुधबार राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय गरेको छ ।
मेचीनगरमा समेत कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि तत्काल सिल गर्न दबाव बढ्दै गएको थियो ।



