खबर

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

२५ कार्तिक २०७८
newsofnepal
रामकृष्ण चापागाईं, काठमाडौं ।

पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताउनुभएको छ ।

महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू तयार पार्न संयोजकहरू तोक्ने बताइएको छ ।

निर्वाचन समितिले भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए पनि आन्तरिक विवादका कारण अवरुद्ध भएपछि कात्तिक २७ देखि पुनः प्रक्रिया अघि बढाएको छ । महाधिवेशनको प्रक्रिया नै शुरु नभएको १४ जिल्ला सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा २७ गतेदेखि वडा अधिवेशन हुँदै छ । यसअघि रसुवा र रौतहटको क्रियाशील विवाद कायमै रहेकाले अन्योल थियो । पछिल्लो समय रसुवाको विवाद टुंग्याएको कांग्रेसले रौतहटको विवाद पनि टुंग्याएको छ । निर्वाचन समितिका संयोजक यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक भएको छ । ‘दुई जिल्लाको विवाद थियो त्यो पनि टुंगियो’, संयोजक यादव भन्नुहुन्छ– ‘अब कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढ्छ, सबै तयारी पूरा भइसकेको छ ।’

हालसम्म कांग्रेसको ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। कार्यतालिकाअनुसार २७ गतेदेखि अधिवेशन प्रक्रिया शुरु गर्न लागिएको जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते गरिँदै छ भने प्रदेशसभा अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते गरिँदै छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन भने मंसिर १० गते हुँदै छ ।

निर्वाचन समितिका अनुसार सोलुखुम्बु, दार्चुला र म्याग्दी तीन जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर २७ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १ गते गरिँदै छ । यसअघि रोकिएको जुम्लाको जिल्ला अधिवेशन पनि मंसिर १ गते हुँदै छ । पालिका अधिवेशन सम्पन्न भइसकेको ४६ जिल्लामा भने प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते र जिल्ला अधिवेशन १० गते हँुदै छ । प्रदेश अधिवेशन भने मंसिर १६ र १७ गते हुने कार्यतालिका छ ।

नेतृत्वका लागि नयाँ समीकरण बन्दै

निर्धारित कार्यतालिका भित्रै १४औं अधिवेशन हुने सुनिश्चितता बढ्न थालेसँगै केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरू नयाँ समीकरण निर्माणतिर लागेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा पुनः नेतृत्व लिने रणनीतिमा छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरी तयारी अघि बढाएको दुई महिना पुग्न लागिसक्यो । सभापतिका अर्का आकांक्षी डा. शेखर कोइरालाले त सभापतिको दाबी गर्दै तयारीस्वरूप जिल्ला दौडाह शुरु गरेको चार वर्ष भइसक्यो । १३औं महाधिवेशनलगत्तै डा. कोइरालाले १४औं महाधिवेशनका लागि तयारी थाल्नुभएको हो ।

आसन्न महाधिवेशनमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी रहिरहेकै बेला अर्का नेता कृष्णप्रसाद सिटौलाले आफ्नो छुट्टै टिमसहित नेतृत्वको दाबी गर्ने बताउनुभएको छ । कांग्रेसभित्र सभापति देउवाले पुनः नेतृत्व दोहोर्‍याउने बताएपछि संस्थापनइतर समूहबाट देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिने निर्णयले सार्थकता नपाएसँगै कांग्रेसभित्र नयाँ समीकरण बन्ने संकेत देखिएको छ ।

कांग्रेसभित्र तीन गुट छ । संस्थापन समूह (देउवा पक्ष), वरिष्ठ नेता पौडेल पक्ष र सिटौला पक्ष । यो अधिवेशनमा चौथो गुटका रूपमा निधि पक्ष देखिने भएको छ । पौडेल गुटका नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिको दाबी नछोड्ने संकेत गरेका छन् । देउवाको समूहबाट छुट्टिएका निधिले पनि नेतृत्व दाबी नछाड्ने भएपछि पौडेल र सिटौलाले के गर्लान् भन्ने आम चासो रहेको छ। यसअघिको अधिवेशनमा दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका सिटौलाले यो अधिवेशनमा पनि देउवासँगै समीकरण गर्ने अनुमान गरिए पनि उहाँले छुट्टै टिमका साथ नेतृत्व दाबी गर्ने बताउँदै आउनुभएको छ । देउवा भने सिटौला नभए पौडेललाई साथ लिएर भए पनि पुनः नेतृत्व लिने दाउमा हुनुहुन्छ ।

दुईभन्दा बढी सभापतिको उम्मेदवार हुँदा दोस्रो चरणको निर्वाचन गर्नुपर्ने सम्भावना बढेको छ । कांग्रेस अधिवेशनमा दुईभन्दा बढी सभापतिको उम्मेदवार भए ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधान छ । दोस्रो चरणमा भने पहिलो र दोस्रो मत ल्याउने बीच मात्र प्रतिस्पर्धा हुन्छ । आसन्न महाधिवेशनमा मतदाताका रूपमा रहने महाधिवेशन प्रतिनिधि ५ हजारको हाराहारीमा आउँदै छन् ।

१४औं अधिवेशनमा सभापतिमा देउवा, निधि, सिटौला, सिंह, कोइराला र पौडलमध्ये चार उम्मेदवार भए ५० प्रतिशत मत कसैले पनि कटाउन नसक्ने र १ हजार मत ल्याउने उम्मेदवार दोस्रो हुने आँकलन गरिएको छ । नयाँ समीकरणको जोड–घटाउमा लागेका नेतृत्वका आकांक्षी नेताहरूले क्षत्रीय अधिवेशनपछि अझ स्पष्ट धारणा सार्वजनिक गर्ने बताएका छन् । महाधिवेशनमा नेतृत्व चयन गर्न आउने महाधिवेशन प्रतिनिधि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट नै निर्वाचित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button