खबर

गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको देउवाको दाबी

२५ कार्तिक २०७८
newsofnepal
काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरवहादुर देउवाले गणतन्त्र आफूहरुले नभई पूर्वराजा ज्ञानेन्द्रले नै ल्याएको बताउनुभएको छ । तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रलाई प्रजातन्त्रबाहेक सबै चढाउँछु भन्दा पनि आफूलाई जेल हालेको भन्दै प्रधानमन्त्री देउवाले अनि जनता तातेपछि गणतन्त्र आएको बताउनुभएको छ ।

बुधबार गणेशमान स्मृति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘मैले सबै चढाउँछु सरकार तर प्रजातन्त्रविरुद्ध जान सक्दिनँ भनें । मलाई शाही आयोग बनाएर थुने । त्यस कारण एकाएक जनता तातिए ।’ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको भन्दै देउवाले यसको खिलापमा जान नहुने पनि बताउनुभयो ।

अहिले देशमा गणतन्त्र छ, संविधान छ भन्दै प्रधानमन्त्री देउवाले यसको खिलापमा कोही पनि जान नहुने भन्दै प्रजातन्त्रको खिलापमा जानेहरुलाई चुनाव जितेर शासन गर्न आग्रह गर्नुभयो । ‘मैले भनिसकें प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि’, प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’ उहाँले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको पनि बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button