खबर

मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको निर्देशन

५ मंसिर २०७८
नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिएको हो ।

विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै आफू मातहतका निकायलाई गुणस्तरहीत सिमेन्ट प्रयोग नगर्न परिपत्र नै जारी गरिसकेको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘विकास निर्माणको काममा प्रयोग हुने सिमेन्टलगायतका निर्माण सामग्रीको गुणस्तर चेकजाँच नियमितरूपमा गर्दै आएका छौं, गुणस्तरहीत निर्माण सामग्री पूर्णरूपमा रोक लगाउन निर्देशन भइसकेको छ ।’

मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीले बताए । उनले भने– ‘विगतदेखि नै मारुती सिमेन्टको गुणस्तरमाथि शंका थियो, अहिले विभागले नै गुणस्तरहीन भएको तथ्य सार्वजनिक गरेको छ, अब मन्त्रालय मातहतका निकायलाई उक्त सिमेन्ट प्रयोग नगर्न भनेका छौं ।’नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न आग्रह गरेको छ । गुणस्तरहीत सिमेन्ट प्रयोग गर्दा हाल निर्माणाधीन विकास निर्माणको कामसमेत प्रभावित भएको भन्दै विभागले देशको ठूला विकास आयोजनामा प्रयोग हुँदै आएको मारुती सिमेन्ट प्रयोग नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको हो ।

४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि गुणस्तर तथा नापतौल विभागले यसअघि निर्देशन दिए पनि मारुती सिमेन्टले अझै कार्यान्वयन गर्न आनाकानी गर्दै आएको छ । नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीको सिमेन्टलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याएको विभागले बताएको छ ।
संकलित नमुनाको एमपीए ७ र २८ दिनको मान क्रमशः ३१ र ३७ मात्रै देखिएको थियो ।

विभागका अनुसार उक्त सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा उक्त कम्पनीले गुणस्तहीन सिमेन्ट उत्पादन गरी उपभोक्तालाई ठगी गरिरहेको तथ्य फेला परेको छ ।सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको छ ।मारुती सिमेन्टप्रति नागरिकस्तरबाट पनि विगतमा प्रश्न उठ्दै आएका थिए । यसपटक विभागले नै प्रयोग नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button