मूल खबर

माओवादीको अध्यक्षमा पुनः प्रचण्ड

२० पुष २०७८

न्युज अफ नेपाल
काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः निर्वाचित हुनुभएको छ । आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई आगामी ५ वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

करिब ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहँदै आउनुभएका प्रचण्डको यो कार्यकालसमेत गरी पार्टीको नेतृत्व गरेको ४० वर्ष पुग्नेछ । केन्द्रीय समितिको बैठकमा प्रचण्डलाई अध्यक्ष बनाउन नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो । उक्त प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । त्यसअघि नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक बसेको थियो । केन्द्रीय समिति सदस्यहरूलाई माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।

पहिलो बैठकबाट पदाधिकारीको टुंगो लगाउने भनिए तापनि प्रचण्डलाई पुनः अध्यक्ष बनाउने निर्णय गरेर पहिलो बैठक सम्पन्न भएको छ । चीनमा उपचार गराइरहेका नेता वर्षमान पुनको आग्रहमा पदाधिकारी चयनको प्रक्रिया स्थगित गरिएको बताइएको छ । पुनः आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । माओवादीको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

‘मेरो सम्पूर्ण ध्यान देश निर्माणमा’
माओवादी केन्द्रका अध्यक्षमा पुनः चुनिएका पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफूले निकै ठूलो जिम्मेवारी बोकेको महसुस गरेको जिकिर गर्दै देश र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ । विगतदेखि नै माओवादीले देश र जनताको पक्षमा काम गर्दै आएको बताउँदै उहाँले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई थप संस्थागत गर्दै आफ्नो सम्पूर्ण ध्यान देश निर्माणमा हुने बताउनुभएको हो ।

ललितपुरको एक पार्टी प्यालेसमा आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो– ‘राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेको छु ।’आफूले लामो समय पार्टीको नेतृत्वमा रहेर विभिन्न ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताउँदै उहाँले पार्टी र देशको अवस्थालाई हेर्दा अझै केही समय आफू सक्रिय रहनुपर्ने बाध्यता रहेको महसुस भएको बताउनुभयो।

माओवादीको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिका बीचमा राजनीतिक तथा वैचारिक रूपमा वृहत्तर छलफल भएको बताउँदै उहाँले केही व्यक्तिले अराजनीतिक टिप्पणी गर्दै हल्का रूपबाट महाधिवशेन सकिएको भन्ने विषयमा भ्रम नपाल्न आग्रह गर्नुभयो । महाधिवेशनले सबैभन्दा धेरै देश र जनताका बारेमा बहस र छलफल भएर नयाँ ढंगले पार्टीलाई सुदृढ बनाएर लैजाने संकल्प गरेको उहाँले भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button