मूल खबरस्वास्थ्य

संक्रमणदर घट्दै

पवित्रा सुनार
काठमाडौँ
नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।

परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ।

पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन संक्रमित संख्या ८ हजार १७ थियो।

शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माघको तेस्रो सातासम्म संक्रमणदर दैनिक २० हजारसम्म पुग्न सक्ने र त्यसपछि ओरालो लाग्ने प्रक्षेपण गरेको थियो।

केहीले संक्रमित भएर पनि परीक्षण नगराएको र केही संक्रमित घरमै बसेकाले तथ्यांकमा समावेश हुन नसकेको देखिन्छ।

‘सामान्य ज्वरो आउने र रुघा लागेर केही दिनमै निको भएपछि धेरैले घरैमा बसेर उपचार गरेको देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले भने।

ओमिक्रोन प्रभावित अन्य देशहरूमा तीन सातापछि संक्रमणदर ओरालो लाग्दै जानु र नेपालमा केही दिनदेखि संक्रमणदर स्थिर देखिनुले अब क्रमशः संक्रमण ओरालो लाग्ने देखिएको डा. पुन बताउँछन्। ‘भारतमा पनि तीन सातापछि संक्रमणदर घट्दै गएको देखियो, अन्य मुलुकमा पनि त्यस्तै पाइयो,’ उनले भने।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले संक्रमणदर केही दिन स्थिर हुँदै ओरालोतिर लाग्ने बताए। उनले भने, ‘स्थिर हुँदै गएको छ, अब घट्दै जाने देखिन्छ,’ उनले भने। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ श्वास–प्रश्वास तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेपालमा धेरै जोखिमममा रहेको जनसंख्याले खोप लगाइसक्नु र केही पहिला नै संक्रमित भइसकेकाले शरीरमा एन्टिबडी बनेकाले पनि ओमिक्रोनले कम असर गरेको बताउँछन्।nagariknews\from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button