खेलकुद

स्टर्लिङको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस विंगर फरवार्ड रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । सिटीले घरेलु टोली नर्विच सिटीमाथि ४–० को फराकिलो जित निकालेको हो ।

क्यारो रोड नर्विचमा शनिबार राति भएको खेलमा सिटीको एक गोल फिल फोडेनको नाममा रह्यो । खेलको ३१औं मिनेटमा रहिम स्टर्लिङको गोलमा सिटीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले केल वाल्करको पासलाई सदुपयोग गरेका थिए ।

४८औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ७०औं मिनेटमा रहिमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए । उनले रुवेन डियासको पासमा गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयमा रहिमले ह्याट्रिक पूरा गर्दै सिटीलाई सानदार जित दिलाए । ग्रान्ट हान्लेले पेनाल्टी बक्समा लियाम डिलापलाई फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । तर रहिमको पेनाल्टीलाई नर्विचका गोलरक्षक एनगुस गनले बचाएपनि रिवाउन्डमा रहिम गोल गर्न सफल भए ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २५ खेलबाट ६३ अंक पुगेको छ । सिटीले दुई खेल कम खेलेको दोस्रो स्थानको लिभरपुललाई १२ अंकले पछि पारेको छ । पराजित नर्विच १७ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यस्तै प्रिमियर लिगकै अर्काे खेलमा एभर्टनले घरेलु मैदानमा लिड्स युनाइटेडलाई ३–० ले पराजित गरेको छ । एभर्टनको जितमा सिमस कोलेमन, माइकल किन र एन्थोनी गोर्डाेनले गोल गरे । जितसँगै एभर्टन २२ खेलबाट २२ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित लिड्स २३ खेलबाट २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

अर्काे खेलमा ब्राइटनले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ । ब्राइटनको जितमा निल मोउपे र एडम वेव्सटेरले गोल गरे ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button