
मेचीनगर ÷ चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान शुरु भएको छ ।
नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त पालिका घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । यसैक्रममा नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भए अनुसार नगरपालिकामा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगर स्तरीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय समिति गठन गरेर विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सोमबार ‘क्षयरोग मुक्त पालिका स्तरीय घोषणा अभियान २०७८’ अन्तर्गत पालिका अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख एवम् नगर स्तरीय समितिका अध्यक्ष विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी गराइन् । नगरप्रमुख आचार्यले क्षयरोग मुक्त नेपाल अभियान २०७८ अन्तर्गत क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत मेचीनगर नगरपालिकालाई क्षयरोगी मुक्त नगरपालिका घोषणा गर्न सवैले लागि पर्नुपर्नेमा जोड दिएका थिए ।

१ नम्बर प्रदेश स्वास्थ्य सेवा निर्देशनालय क्षयरोग कार्यक्रम संयोजक शैलेस भुजेलले क्षयरोग मुक्त पालिका अभियानका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।। कार्यक्रममा स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले गत आर्थिक वर्ष २०७७÷०७८ मा नगरभित्रको क्षयरोगको अवस्थामा बारेमा जानकारी गराएकी थिइन्। उनका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ मा मा नगरमा ९१ जना नयाँ क्षयरोगी फेला परेका छन् । कार्यक्रममा नगरका १५ वटै वडाले के कस्ता योजना बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएाके थियो । ३÷ ३ वटा वडाका ५ वटा ग्रुप बनाएर कार्यक्रम अघि बढाउने सापकोटाको भनाई छ ।
अभिमुखिकरण कार्यक्रममा नगर स्तरीय समिति वडा स्तरीय समितिका प्रमुख प्रतिनिधिहरु, विभिन्न जनप्रतिनिधिहरु, स्वास्थ्य केन्द्रका प्रमुख प्रतिनिधिसहित स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।



