
कविता
छन्द:मन्दाक्रान्ता
फुल्छन् चाहा सबजन जुटे,फल्छ हाम्रो धरामा
बोली हाम्रा सलबल भए,दूर त्यो कन्दरामा।
हामी आफै जगत भरमा,जुट्नु पर्नेछ भोली
हाम्रो भाषा अटल रहँदै,उठ्छ संस्कार खोली।।
१
ती खाटामा जब तब सँधै,ध्यान साँचो जगाऊ
यो माटामा हर समयमा, ज्ञान राम्रो लगाऊ।
यी आकाङ्क्षा सुख सयलका, सल्बलाएर साथी
आऊ आऊ सबजन मिली,जानु पर्नेछ माथि।।
२
राम्रो आशा सफल ममता,राख भित्री कुनामा
माया गर्दै जगत जननी, सत्य बान्दै तुनामा।
आऊ राम्रा असल जन हो, आउँदै साथ देऊ
जो छन् दुःखी तल जनहरू,हो त्यहाँ हात देऊ।।
३
छन् सन्नाटा सबतिर जहाँ,फाल्नु सर्दै अगाडि
टेक्दै गोडा हिमशिखरमा,चढ्नु बढ्दै अगाडि।
देखिन्छन् ती सफल चुचुरा,पाउ टेक्दै बढेमा
जो पुग्नेछन् समय पलमा,त्यो उकालो चढेमा।।
४
नेपालीका असल जन हो,सोच राम्रो बनाइ
जुट्दै आऊ हर मनहरू,भेष आफ्नो समाइ।
छाओस् आशा सबतिर जहाँ,उठ्नु पर्नेछ मित्र
हाम्रो भाषा अति सहजले,बोल्नु यो देश भित्र।।
५
माईजोगमाई-१,इलाम

