कृषि र किसान

दूधको मूल्यमा कार्टेलिङको प्रयास

 

लक्ष्मी सापकोटा
काठमाडौँ। नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।

डीडीसी र डेरी एसोसिएसन आबद्धले बढाएनन्

सङ्घ आबद्ध डेरीले मूल्य बढाए पनि दुग्ध विकास संस्थानलगायत नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी व्यवसायीले भने मूल्य बढाएका छैनन् ।

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले डीडीसीले दूधको मूल्य वृद्धि नगरेको जानकारी दिनुभयो । “निर्धारित प्रक्रिया पूरा नगरी एकतर्फी मूल्य वृद्धि गर्ने काम जायज होइन,” उहाँले भन्नुभयो, “डीडीसी दूधको मूल्य बढेको छैन, प्रतिलिटर ८६ रुपियाँ नै हो ।”

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसोसिएसनमा आबद्ध डेरीले मूल्य नबढाएको बताउनुभयो । एसोसिएसनमा घरेलु, मझौला, साना र ठूला गरी २५५ डेरी सदस्य छन् । “हाम्रा सदस्य संस्थाले मूल्य बढाएका छैनन्,” उहाँले भन्नुभयो, “दूधको लागत बढेकाले मूल्य बढाउन आवश्यक छ तर अध्ययन नगरी प्रक्रिया पूरा नगरी मूल्य बढाउनु न्यायोचित हुँदैन ।”

मूल्य बढाउने निर्णय गरेका हिमालयन डेरी र सीताराम डेरीले भने बढेको मूल्य फिर्ता गरेको जनाएका छन् ।

एकाएक मूल्य बढाउन निर्देशन दिने डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले लागत बढेकाले दूधको मूल्य बढाएको भन्दै आफ्नो बचाउ गर्नुभयो । “कच्चा पदार्थ मूल्य बढेकाले उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, प्रतिलिटर दूधमा शनिबारदेखि लागू हुने गरी १४ रुपियाँ मूल्य बढाएका हौँ,” उहाँले भन्नुभयो, “छलफल अध्ययन गरेर के गर्नु ? व्यवसाय नै नचल्ने भएपछि बढाउनै प¥यो ।” सरोकारवाला निकायहरू सँगै छलफल तथा जानकारी नदिएरै व्यक्तिगत रूपमा मूल्य बढाइएको उहाँले स्वीकार गर्नुभयो । दाहालका अनुसार सङ्घमा आबद्ध ३० देखि ४० डेरीले मूल्य बढाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा उजुरी

यसैबीच केही निजी डेरीले गैरकानुनी ढङ्गले दूधको मूल्य बढाएको भन्दै कारबाहीको माग राखी राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजी डेरी उद्योगले कार्टेलिङ गरेर मूल्य बढाउँदा त्यसको असर आमउपभोक्तामा पर्न गएको बताउनुभयो ।

एक वर्षमै र अनधिकृत रूपमा दूधमा मूल्य बढाउँदा आमउपभोक्तालाई प्रत्यक्ष मार पर्छ,” उहाँले भन्नुभयो, “गैरकानुनी रूपमा बढाइएको मूूल्य तत्काल फिर्ता लिनपर्छ ।” मञ्चले नेपाल डेरी उद्योग सङ्घले गरेको मूल्य वृद्धि तत्काल फिर्ता लिन लगाउन र गैरकानुनी कार्य गरेकाले आवश्यक कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष माग गरेको छ ।गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button