मूल खबर

आजदेखि चरा गणना

नितु घले
काठमाडौं : चरा गणना शनिबारबाट सुरु हुँदैछ। नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना (एसियन वाटरवर्ड काउन्ट) शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ, विजयपुर, कर्णाली, महाकाली, पश्चिम राप्तीलगायतका १५ वटा नदी प्रणालीको २७ स्थानमा यो गणना हुनेछ। त्यहाँका सिमसार क्षेत्रमा हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारबाट यस्तो गणना हुँदै आएको छ।

बसाइँसराइ गर्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गरी संख्या पत्ता लगाउने काम उक्त गणनाले गर्नेछ। यस्ता कार्यले सिमसार क्षेत्रको अवस्थाको बारेमा थाहा हुने र त्यस्ता क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी गराउनेलगायत रहेको विभागले जनाएको छ।

विभागका प्रमुख महेश्वर ढकालका अनुसार विश्वमा पाइने ९ प्रतिशत चरा नेपालमा पाइन्छ। नेपालमा कम्तीमा आठदेखि नौ सय प्रजातिका चराहरू पाइन्छन्। पछिल्लो समय चराका बासस्थान मासिँदा, सिमसार क्षेत्र सुक्दा, वन विनाश र डँढेलो तथा जैविक विविधता मासिँदा चरामा असर परेको छ। परागसेचनका लागि चराको भूमिका महत्वपूर्ण रहन्छ।

प्रमुख ढकाल भन्छन्, ‘आगामी दिनमा नेपालका ७ सय ५३ वटै पालिकाहरूमा पाइने चराको जानकारी राख्न तथा विशेष चरालाई उनीहरूले नै प्रवद्र्धन गर्न सके चराको संरक्षण हुने देखिन्छ।’ चराप्रतिको आकर्षण युवाहरूमा जगाउन आवश्यक रहेको उनले बताए।

चराविद् डा. हेमसागर बरालका अनुसार यो गणनाले सिमसार क्षेत्रको अवस्था कस्तो छ ? भन्ने विषयमा जानकारी मिल्नेछ। जलवायु परिवर्तनलगायत विभिन्न समस्याले चराहरूको संख्या घट्दो, बासस्थान छोड्ने, सधैं देखिँदै आएको चराको उपस्थिति नदेखिनेलगायतका समस्या बढेको उनले बताए। ‘सिमसार क्षेत्रमा बस्ने चराहरूलाई पानी अनिवार्य चाहिन्छ। उनीहरूको उपस्थितिले महत्त्व राख्छ’ बरालले भने ‘थोरै मात्रै अवरोध आएमा त्यस्ता स्थान छोड्छन्। सिमसार सुक्दा कतिपय प्रजातिका चराहरू देखिनै छाडिसके।’ त्यसैले पनि यस्ता गणना अर्थपूर्ण रहेको उनले बताए।अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button