खबर

मदिरा छोडेपछि फेरियो डुम समुदाय

गोरखापत्र अनलाइन
जीवछ यादव

लहान। लहान नगरपालिका–२३, बेतहाका डुम समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भइरहेको छ। उनीहरूको बसाइ, लवाइखवाइ र सरसफाइमा उल्लेखनीय परिवर्तन आएको छ। उनीहरूको जीवन आर्थिक र सामाजिक रूपमा पनि परिवर्तन भइरहेको छ। अहिले उनीहरूको पक्की घर बनाउने क्रम बढेको छ। बालबालिका विद्यालय जान थालेका छन्।

डुम समुदायले मधेशको गर्मीमा वरपीपल वा पाकैरको रुखमुनि बसेर बाँसजन्य सामग्री बनाएर जिविकोपार्जन गर्ने गरेका थिए। बेतहाका बिल्टु मरिक र टिरहा मरिकको घर मात्रै होइन, यो समुदायको फेरिएको व्यवहार देखेर धेरै प्रभावित भएको स्थानीय रामकिसुन दासको भनाइ छ। उहाँका अनुसार यहाँका मरिकको बानी व्यवहार अन्य समुदायका लागि पनि प्रेरक बनिरहेको छ।

स्थानीय बिल्टु मरिक भन्नुहुन्छ, “आफ्नो बानीमा आएको सुधारले समाजमा हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ। बीस वर्षअगाडि विद्यालयमा पढ्न जाँदा छुवाछूत गर्दा समस्या थियो। कसैले जिउँमा छोइहाल्यो भने गङ्गाजल छर्केर स्नान गर्थे र चोखिन्थे। डुम समुदाय सबैभन्दा बढी छुवाछुतको मारमा थियो। अहिले बेतहाका डुम समुदायसँग त्यस्तो व्यवहार गरिँदैन।” सार्वजनिक बसमा पनि जानआउन समस्या थियो तर अहिले यी समस्या छैनन्। डुम समुदायले मदिरा सेवन गर्न छाडेपछि यी परिवर्तन आएको बेतहाका डुमहरूको भनाइ छ।

दिनेश मरिकले १० वर्ष वैदेशिक रोजगारीमा गरेको मेहनतको कमाइले बीस लाखभन्दा बढीको लागतमा पक्की घर निर्माण गर्नुभएको छ। दिनेशका छोराछोरी निजी विद्यालयमा महँगो शुल्क तिरेर पढिरहेका छन्। पहिले सुँगुर चराएर दिन बिताउने डुमका बालबालिका अहिले नियमित विद्यालय जान थालेका छन्। बिल्टु मरिकले खुसी हुँदै भन्नुभयो, “पहिले डुमको दैलोमा कसैले बस्न मान्दैनथ्यो अहिले दैलोमा आएर बस्छन् हामी पनि अरूका दैलोमा जाँदा इज्जत गरिरहेका छन्।”

गीर्जादेवी मरिकले पुरुषले मदिरा सेवन गर्न छाडेपछि र बालविवाह रोकिएपछि यहाँका डुम समुदायलाई हेर्ने दृष्टिकोण नै फेरिएको अनुभव सुनाउनुभयो। उहाँका अनुसार पहिले ‘कथित’ ठूला जातिले गर्ने भोजमा पातमा रहेको जुठो भात, दाल, तरकारी खानुपर्ने बाध्यता थियो अब त्यस्तो छैन। गाउँ समाजबाट निम्तोपत्र आउँछ अरू र डुमसँग गर्ने व्यवहारमा फरक नरहेको गीर्जादेवी मरिकले बताउनुभयो।

लहानको गढास्थित डुम समुदायको २० घर बस्तीमा अहिले पनि सरसफाइ, शिक्षा र चेतनाको अभाव छ। अत्यधिक मदिरा सेवन गर्दा कुनै सुधार नआएको वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। गढाका डुम समुदाय र बेतहाको डुममा त तुलना नै गर्न नसकिने उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button