मूल खबर

कर्मचारीको विदेश भ्रमणमै सकिन्छ करोडौं, सरकारले कडाइ गरे पनि कार्यान्वयन फितलो

न्युज अफ नेपाल
–विदेश जानेको विवरण लुकाउन थालियो
–सरकारी खर्चमा घुमे पनि उपलब्धि न्यून
–सोर्सफोर्स नहुनेहरूलाई विदेश भ्रमणबाट वञ्चित
–उपल्ला र तल्ला स्तरका कर्मचारीमा चरम विभेद

काठमाडौं । सरकारले अत्यावश्यक काममा बाहेक विदेश भ्रमण रोके पनि सो निर्णय कार्यान्वयनमा आशंका देखिएको छ । यसअघि पनि सरकारले पटकपटक विदेश भ्रमणमा कडाइ गर्दै आए पनि कर्मचारीले विदेश भ्रमणमा वार्षिक ५० करोडभन्दा बढी सकाउने गरेका छन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले पनि अत्यावश्यकबाहेकको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो तर पछि कार्यान्वयन हुन सकेको थिएन । अहिले पनि सरकारले अत्यावश्यकबाहेकको विदेश भ्रमण रोक लगाए पनि कर्मचारीहरू विभिन्न बहाना बनाएर विदेश भ्रमण जाने क्रम जारी छ । सरकारले विदेश भ्रमणमा कडाइ गर्ने निणर््ाय गरेको भए पनि कार्यान्वयन फितलो देखिएको छ ।

विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीहरूले विदेश भ्रमण जाने क्रममा करोडांै रुपियाँ खर्च गर्ने गरेको पाइएको छ । त्यसरी मनपरि रूपमा खर्च हुने गरे तापनि त्यसको अनुगमन भने हुँदैन । विदेश भ्रमणको उपलब्धि पनि देखिँदैन । कर्मचारीहरूले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकिने गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विदेश भ्रमण गर्दा लाखौं रुपियाँ भत्ता आउँछ जसका कारण कर्मचारीहरू विदेश भ्रमणका लागि औधी दौडधुप गर्ने गरेका छन् । विदेश भ्रमणमा पनि व्यापक सोर्सफोर्स चल्ने गरेको छ । मन्त्री तथा सचिव र उच्च पदस्थहरूको निकट भएकाहरू मात्रै विदेश भ्रमणको अवसर पाउने गरेको बताइएको छ ।

सरकारी निकाय विशेष गरी मन्त्रालयहरूले केही वर्ष अघिसम्म विदेश जाने कर्मचारीहरूको विवरण वेभसाइटमार्फत सार्वजनिक गर्ने गरेको थियो । तर, हाल आएर मन्त्रालयहरूले आफू मातहतका विदेश जाने कर्मचारीको विवरण सार्वजनिक नगरी गोप्य राख्ने गरेका छन् । यसले गर्दा पनि विदेश भ्रमणको औचित्य पुष्टि हुन सकेको छैन । जसका कारण राज्यको रकम बालुवामा पानीसरह भइरहेको स्रोतको दाबी छ ।
कोरोनाको समय अघिसम्म कर्मचारीहरू विभिन्न बहाना बनाएर विदेश जाने क्रम व्यापक थियो । कोरोनाको अवधिमा भने कर्मचारीको विदेश भ्रमण निकै घटेको थियो । तर, अहिले आएर फेरि कर्मचारीहरू विदेश भ्रमणमा जाने क्रम बढेको हो ।

सरकारले विदेशमा अध्ययन अवलोकनबापत विनियोजन गरेको रकम नसकिँदासम्म कर्मचारीहरू विभिन्न समूह बनाएर विदेश जाने क्रमलाई निरन्तरता दिने गरेका छन् ।

अधिकारीहरूका अनुसार कर्मचारी विभिन्न देशमा घुमेर आए पनि त्यहाँ सिकेका राम्रा कुरालाई व्यवहारमा उतार्न खासै पहल गर्दैनन् । ‘विदेश जाने घुम्ने र आउने मात्रै हुन्छ, त्यहाँ सिकेका कुरालाई व्यवहारमा उतार्ने जमर्को अधिकांश कर्मचारीले गर्दैनन्’ –सरकारकै एक अधिकृतको गुनासो छ । तालुक निकायले पनि विदेश भ्रमण गएर आएपछिको मातहतको कर्मचारीको सिकाइ उपलब्धिको विवरणसमेत माग्न छोडेको छ ।

मन्त्रालयमा विदेश जाने कोटा आउँदा पनि सोर्सफोर्सवाला केही सचिव, सहसचिव तथा उपसचिवस्तरकै कर्मचारीको बढी हालीमुहाली हुने गरेको बताइन्छ । राजपत्र अनंकित तहका खरिदार, सुब्बा तथा अधिकृतहरूले भने विदेश जाने अवसर निकै कम पाउने गरेका छन् ।
सरकारी कोटामा विदेश पठाउने कार्यमा समेत ठूलो विभेद हुने गरेको गुनासो तल्ला स्तरका कर्मचारीको छ । विदेश पठाउँदा पनि सेटिङ चल्ने गरेको आरोप ती कर्मचारीको छ । सोर्स, फोर्स र पहुँच नभएका व्यक्तिहरू विदेश जाने अवसरबाट वञ्चित हुँदै आइरहेको तल्ला स्तरका कर्मचारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button