
फाइल तस्बिर।
सिमरा : एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकै अन्य जिल्लाबाट उखेलिएपछि उपेन्द्र यादव चुनाव लड्न यतिबेला बारा आएको बताएका छन्। एमाले जिल्ला कमिटी बाराले बुधबार बरियारपुरमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै ओलीले अन्य जिल्लामा सफल हुन नसकेका यादवले बारामा चुनाव जिते पनि माला लगाउनेबाहेक अरू केही नगर्ने बताए।
‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो। त्यहाँबाट उखेलिएपछि सुनसरीबाट लड्नुभयो। त्यहाँबाट पनि उखेलिएपछि सप्तरी आउनुभयो। सप्तरीबाट जरा नै टकटक्याएपछि बारा आउनुभएको छ,’ ओलीले भने, ‘उहाँले चुनाव जिते पनि माला लगाउने र मन्त्री बन्नेबाहेक के गर्नुहुन्छ ?’
मधेसका मसिहा भन्नेले जनता ठग्नेबाहेक केही पनि नगरेको भन्दै ओलीले यादव अहिले देश लुट्न बनेको १० दलीय गठबन्धनको सदस्य रहेको बताए। यादवबाट कुनै पनि विकासका कामको आस गर्न नसकिने ओलीको भनाइ थियो। मधेसका हुलाकी राजमार्ग, हुरी बतासले भत्किएका जनताका घर एमाले नेतृत्वको सरकारको पालामा बनेको भन्दै ओलीले बाराको मात्र नभई देशकै विकासका लागि पनि एमालेको बहुमतसहितको सरकार आवश्यक रहेको बताए।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



