
(कविता)
हे वीर गोर्खाली, यहाँसम्म आइपुग्दाउँदी
यानेकि, गणतन्त्रको उदीयमान युगसम्म
त्यस्तै, लोकतन्त्रको फरासिलो व्यवस्थासम्म,
उस्तै, संघीयताको अपार प्रणालीसम्म
अर्थात् आजसम्म आइपुग्दा
मेरी छोरी तथा मेरा तमाम छोरीहरु
यहाँ, आफ्नै देशमा
नर्स पढ्न नसकी,
लुटाउने रुपियाँको अभावमा तड्पिँदा तड्पिँदै
भारत पुगेर पढ्न बाध्य भए।
विश्वभरि इमानदार भनेर चिनिएको
हे इमानदारी नेपाली,
मेरा ती तमाम छोरीहरु
यता संघीयता, लोकतन्त्र र गणतन्त्रको
जनहितपूर्ण कायाकल्प हुँदाउँदि
उता “उसका भारत महान”मा
सहज खर्चमा चारवर्ष पढिसके त ।
हे, वीर नेपाली !
मेरी छोरी तथा तमाम मेरा छोरीहरु
यो पावन संघीय राज्यभित्र
हितैषी कानुन र व्यवस्थाको ओतप्रोतमा
आजको मितिसम्म आइपुग्दा
आफ्नो दक्षता र क्षमताको सम्मानको खोजीमा
सक्नेहरु अमेरिका, अस्ट्रेलिया, क्यानाडा पुगे,
नसक्नेहरु उहीँ “उसका भारत महान” मै
सम्मानित कार्य गरिरेछन् त ।
अब के भनूँ? हे क्रान्तिवीर नेपाली,
लोकतन्त्र, गणतन्त्र र ताइमा उफ्रेको
फुरौले संघीयतामा अहिलेसम्म
आजको मितिसम्म आइपुग्दा
“मेरो नेपाल” पनि झन महान भनूँ त??
यो अवस्था, अभ्यास, आशय र आचरणले
यत्रतत्र जन्माएको सामाजिक अपराधभित्र
नेपालीजन विभत्स ढङ्गले बाँच्नुपर्ने क्षण प्रतिक्षण
कहालीलाग्दो सामाजिक जनजीवन
अत्यासलाग्दो राज्यिक नैतिक विडम्बना देख्दा
मेरो दिमाखमा यही प्रश्न छ,
“मेरो नेपाल महान” भनेर कसले कसरी
र, कहिलेसम्म रटिरहनु? जब कि
हे ताकतवर नेपाली !!
यहाँ पढ्न, ज्ञान लिन र काम गर्न
अनि, पढेर, नपढेर पनि काम गर्न
जाबो “उसको महान भारत” जति पनि
कुनै अवसरै छैन ।

