सृजनाको चौतारी

पुरस्कार प्रदान

काठमाडौँ । करिब एक सय वर्षअघि सामाजिक रूपान्तरणका लागि पहिलो आवाज बुलन्द गर्ने ‘योगमाया’ को स्मृतिमा सर्जकद्वयलाई पुरस्कार प्रदान गरिएको छ।

नेपाल स्रष्टा समाजद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सर्जक चन्द्रबहादुर बस्नेतलाई योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र डा. अरुणा उप्रेतीलाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०८० प्रदान गरिएको हो। सर्जक बस्नेतलाई ३५ हजार १०१ रुपियाँ र डा. उप्रेतीलाई २५ हजार १०१ रुपियाँसहित पुरस्कृत गरिएको हो।

कार्यक्रममा प्राडा गोविन्दमानसिं कार्कीले पुरस्कृत स्रष्टाद्वयका बारेमा चर्चा गर्दै चन्द्रबहादुर बस्नेतले आफ्नो जीवनकालमा योगमाया न्यौपानेका धार्मिक गतिविधि, अभियानलाई नजिकबाट देख्ने अवसर पाएको, उहाँको कृतिलाई अमर बनाउन पुस्तक लेखेको र आजको पुस्ताबारे योगमायाको चर्चालाई निरन्तरता दिलाउन पु¥याएको योगदानका लागि सम्मानित गरिएको बताउनुभयो। त्यसै गरी डा. अरुणा उप्रेतीले पोषणविद्, स्वास्थ्यकर्मीलगायत जनस्वास्थ्यको सवालमा पुस्तक लेखेर, गाउँ गाउँमा हानिकारक प्रथाविरुद्ध जागरण फैलाएर आफ्नो पेसामार्फत पु-याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको बताउनुभयो।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले योगमायाले भ्रष्टाचार, दासप्रथा, सतिप्रथा, छुवाछुत, बहुविवाह, बालविवाह, गरिब वर्गको दमनविरुद्ध आवाज उठाउँदै ६७ जना अनुयायीसहित विसं. १९९८ असार २२ गते अरुण नदीमा ‘जलसमाधि’ लिएको दिन स्रष्टा समाजले उहाँको योगदानको चर्चा गर्ने र सम्मान पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो । समाजका संरक्षक पवन आलोकले योगमाया समाज सुधारकका साथै नेपालकी पहिलो महिला कवि पनि रहनुभएको भन्दै समाजले उहाँको योगदानलाई स्मरणको थालनी गरेको दाबी गर्नुभयो।

सो अवसरमा विभिन्न लेखकले योगमायाको योगदानबारे लेखिएका रचनाहरू सङ्कलित समाजले प्रकाशित गरेको ‘योगमाया विशेषाङ्क, स्रष्टा दर्पण’ को लोकार्पण गरिएको थियो।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button