कृषि र किसान

सात करोडभन्दा बढीको चामल आयात

गुल्मी। गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार जिल्लामा एक जनाले सरदर वार्षिक १३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक पर्छ । जसमध्ये करिब १७ हजार मेट्रिक टन चामल जिल्लामै उपलब्ध रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “अपुग चामल आयात गर्नु पर्छ । पहिले मकै, कोदो, फापर पनि खाने गरिन्थ्यो । अहिले त्यसको खपत घट्दो रहेको छ।” मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको भण्डारीले बताउनुभयो ।

उत्पादन घट्नुका विभिन्न कारण रहेका छन् । अझै पनि जिल्लामा पर्याप्त सिँचाइको अभाव छ । बेला बेलामा हुने खडेरीका कारण पनि उत्पादन घटेको हो । गुल्मीमा खेती गरिने धानका स्थानीय जातमध्ये हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सीलगायतका जात कृषकले लगाउने गर्दछन् ।

कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण किसानले स्थानीय जातका धानको खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले बिउ संरक्षण गर्दै आएको र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको प्रमुख भण्डारीले बताउनुभएको छ । गुल्मीमा उन्नत जातका धानहरू साँवा मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली, हाइब्रिड धान शङ्कर, उपज, च्याम्पियन, युएस–३१२ लगाउने गरिएको छ तर यी जात सूचीकृत नभएको उहाँले बताउनुभयो । चैते धानका रूपमा स्थानीय मार्सी, सिएज–४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ । यो वर्ष कुल धान खेती हुने क्षेत्रफलको ९७ प्रतिशत जग्गामा धान रोपाइँ भएको थियो ।

धान उत्पादन बढाउनका लागि विकासे र रैथाने जातका धानका बिउ बराबरी लगाउनुपर्ने ज्ञान केन्द्रले जनाएको छ तर अहिले रैथानेभन्दा विकासे धान बढी लगाउने गरिएको छ । अप्ठ्यारोमा साथ दिन सक्ने भनेकै रैथाने जातको धान हो । यस वर्ष रासायनिक मलको समस्या यहाँका कृषकले भोग्नु नपरे पनि मनसुनी वर्षा कम भएका कारण अहिले ७७.१९ प्रतिशत रोपाइँ भएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button