कृषि र किसान

नवलपरासीपूर्वमा पन्चानब्बे र सर्लाहीमा पचास प्रतिशत रोपाइँ

कावासोती। यो वर्ष ढिलै गरी सुरु भएको धान रोपाइँ साउन दोस्रो हप्ता सकिँदा नवलपरासीपूर्वमा भने ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

लामो खडेरीका कारण यो वर्ष समयमै पानी पर्न नसकेका कारण किसानले १५ असारबाट सुरु गरेका धान रोपाइँ साउनको दोस्रो हप्ता सकिँदासम्म ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।

कृषिमा आश्रित किसानहरू यति बेला खेतमा रमाइरहँदा गत वर्ष साउनको पहिलो हप्तामा नै सकिएको धान रोपाइँ यो वर्ष भने साउन दोस्रो हप्तासम्म ९५ प्रतिशत रोपाइँ सकिएको प्रमुख लामिछानेले बताउनुभयो । पूर्वी नवलपरासीमा कुल १९ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान खेती लगाइने गरेका छन् । त्यसमध्ये करिब १८ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती सकिएको छ । तराई र भित्री मधेशमा धेरै क्षेत्रफलमा धान रोपाइँ सकिएको र पहाडी क्षेत्रमा समेत अहिले ढिला गरी मूल फुट्नु, थालेको र साउनको २० सम्म ९८ प्रतिशतसम्म धान रोपाइँ सकिने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै सर्लाही समाचारदाताका अनुसार पर्याप्त वर्षा हुन नसक्दा सर्लाहीमा मध्य साउनसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका अनुसार जिल्लाभर धान खेती हुने ४४ हजार पाँच सय हेक्टर जग्गामध्ये अहिलेसम्म आधाको हाराहारीमा मात्रै रोपाइँ भएका हुन् । केन्द्रका प्रमुख देवानन्द राययादवले खडेरीका कारण आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा रोपाइँ हुन नपाएको जानकारी दिनुभयो ।

उहाँले मनुस्मारा र बागमती सिँचाइको नहरबाट पानी लाग्ने क्षेत्रमा धमाधम रोपाइँ भए पनि आकाशे वर्षा कुरेर रोपाइँ गर्नुपर्ने जिल्लाको उत्तरी र पूर्वी भेगमा अधिकांश खेत बाँझै रहेको बताउनुभयो । रोपाइँ नहुँदा धानको ब्याड (बिउ) छिप्पिएर गइरहेको गुनासो किसानले गरेका छन् । लालबन्दी नगरपालिका–१७, रानीगञ्जका किसान गोपाल अधिकारीले वर्षा नभएका कारण खेतीयोग्य फाँट बाँझो बसेका बताउनुभयो । वर्षा नहुँदा असारमै रोपिएको धान प्रभावित भएको छ । ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान मानबहादुर कार्कीले धान रोपाइँ गर्न र सुत्ला च्याप्ने बेला भएको मकै पसाउन वर्षा खाँचो रहेको बताउनुभयो ।

कार्कीका अनुसार आकाशे वर्षाको भर रहेको चुरे भेगमा पानी नपर्दा अधिकांश खेत बाँझो रहेको छ । “हाम्रोतिर नहर छैन, पम्पसेट पनि चल्दैन, खेतीका लागि आकाशे वर्षाकै भर हो,” कार्कीले भन्नुभयो, “पानी नपर्दा अधिकांशको खेत बाँझै छ, असारमा एक/दुई झर परेको पानीमा रोपिएको धान पनि खेत पटपट फुटेर सुक्न थालेको छ ।”गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button