
रेसुङ्गा, साउन २४ गते । गुल्मीको मुसीकोट नगरपालिकाले आदिवासी जनजाति समुदायलाई मौलिक बाजा प्रदान गरेको छ । मुसीकोट नगरपालिकामा आदिवासी जनजाति समुदाय धेरै छन् । उनीहरूको मौलिक कलासंस्कृतिको संरक्षण र विकास गर्न नगरपालिकाले बाजा प्रदान गरेको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताउनुभयो ।
मुसीकोटको छन्त्याल समुदायलाई दुई थान धानुक सेट र नेवार समुदायलाई ढोलक र झेली प्रदान गरिएको हो । त्यस्तै मगर र कुमाल समुदायलाई डम्फु र मादल प्रदान गरिएको मुसीकोट नगरपालिकाकी स्वास्थ्य सहायक तारा थापामगरले जानकारी दिनुभयो ।
मौलिक संस्कृतिको जगेर्नाका लागि मुसीकोट नगरपालिकाले नगरका समग्र आदिवासी जनजाति समुदायलाई समेटेर गरेको सहयोगले नयाँ ऊर्जा प्राप्त भएको आदिवासी जनजाति सञ्जाल मुसीकोटका संयोजक लोेकप्रसाद छन्त्यालले बताउनुभयो । जनजाति समुदायलाई बाजा प्रदान गर्दै मुसीकोट नगरपालिकाका प्रमुख जीवन खरेलले नगरको सांस्कृतिक पहिचान अझै बढी उजागर गर्ने, जनजाति समुदायलाई एकीकृत गरेर कला र संस्कृतिलाई पनि अर्थोपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँमा युवापुस्ताको पलायन तीव्र रूपमा हुँदा मौलिक परम्परा र संस्कृति सङ्कटमा परिरहेको अवस्थामा नगरको सहयोगले जनजाति समुदायलाई अलिकति भए पनि राहत र ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।गोरखापत्र अनलाइन



