सृजनाको चौतारी

भीमानको सालिक (कविता)

सहिद पार्कमा एउटा सालिक छ

पत्याउनुस् या नपत्याउनुस्

हरेक रात आगो ओकल्छ

भीमान चोकमै फूलको घेराभित्र बसेर

पार्कबाहिर थरीथरीका मान्छे डुल्छन्

चुइङ्गम चपाउने मान्छेहरू

कोही राता देखिन्छन्

जिन्दगीको खासै अर्थ नबुझ्नेहरू

सडकपेटीतिर

मान्छे कोही काला भेटिन्छन्

ढुसी परेको मूला जस्तो गन्हाउँछन् कोही

भूतप्रेत डङ्किनी चाहिँ सालिकसामु त्रसित हुन्छन्

चुरोटका धुवाँ उडाउँदै

नाङ्गो, फुस्रो धुलाम्मे चोकको त्यो सालिकमा

चमेरा झैँ तुर्लुङ्ग झुन्डिन्छन् ।

काला मान्छे सधँै कमला धाउँछन्

थापेका दुवालीमा जे आउँछ– पानी सर्प वा माछा ?

हर्षविभोर भई रमाउँछन्

भीमान जङ्गलभित्र काई लागेका

खोल्सीहरू छन्

त्यही खोल्सीको पानीभित्र पनि

त्यो सालिकले हरेक रात आगो लगाउँछ

असङ्ख्य बुहरूपी मान्छेहरू छन्– भीमानका

बघिनीको दुध खोज्न

डम्मरु होइन– बिरालो खटाउँछन्,

अवनितलमा लामखुट्टे, सर्प सर्वत्र छन्

समय चिन्दै चिन्दैनन्–सनातनदेखिका स्यालहरू

दिनदहाडै गाउँबस्तीको कुखुरा समाउँछन्

दोष जति वन ढाडेलाई लगाउँछन्

अनन्त इतिहास छ– चुरेभित्रका डढेलोमा

थाहै छैन– तिनीहरूलाई

तुच्छ चेतबाट माथि उठेको

राता मान्छेका मात्रै अभिमन्यू होइन

त्यो जिउँदो सालिक,

असम्पन्नताको शिविरबाट

भविष्यमा पनि हातमा आगो बोकेर

‘इन्क्लावको जिन्दावाद’ घन्काउँछ– त्यो सालिक

घाँस खाने मान्छेका विरुद्ध,

विश्वभरि

त्यसैले भीमानका राता मान्छेहरू

रातो चस्मा लगाएर

रातै फूल चढाउँछन्– भीमानको सालिकमा

भीमानका काला र बहुरूपी मान्छेहरू चाहिँ

कमलामा सधैँ भ्यागुता समाउँछन् ।

सिन्धुली

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button