
नारायण भण्डारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’स्वदेश फर्किनुभएको छ । चीनको औपचारिक भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । शनिबार बिहान प्रधानमन्त्री दाहाललाई छेन्दुमा सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूले छेन्दु विमानस्थलमा बिदाई गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भई न्युयोर्कबाटै चीनको आठ दिने औपचारिक भ्रमणमा जानुभएको हो । १९औं एसियाली खेलकुद्को उद्घाटन समारोहमा भाग लिन न्युयोर्कबाट चीनको हाङचउ पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले हाङचउमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै, बेइजिङमा चिनियाँ समकक्षी ली छ्याङसँग एक्लाएक्लै र द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस्तै, प्रधानमन्त्री प्रचण्ड बेइजिङमा विभिन्न कार्यक्रममा समेत सहभागी हुनुभयो । प्रधानमन्त्री दाहाल छोङछिङ र मानसरोवर हुँदै छेन्दु पुग्नुभएको थियो ।
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र छिमेकी मुलुक चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय सम्झौताबारे जानकारी गराउनुभएको छ । शनिबार काठमाडौं ओर्लिएलगत्तै त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले विशेषगरी चीन भ्रमण र त्यसका उपलब्धिहरू र संयुक्त राष्ट्रसंघको महासभामा नेपालको उपस्थितिबारे जानकारी गराउनुभएको हो । उहाँले चीनका राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङ र चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लिजीलगायत विभिन्न प्रान्तमा भएका द्विपक्षीय भेटवार्ताको उपलब्धिबारे जानकारी गराउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा भएको भेटवार्तामा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिई चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । आफ्नोे धारणामा राष्ट्रपति सीले पनि समर्थन जनाएको उहाँले बताउनुभयो ।
त्यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशका उड्डयन निकायहरूबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नेपाल चीन लगानी सम्मेलनमा नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएपछि उनीहरू सकारात्मक भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियोे ।
‘प्रधानमन्त्री ली छ्याङ्सँगको द्विपक्षीय वार्तामा नेपालको उत्तरी सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालका तर्फबाट पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भयो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सहरहरूबाट हवाई सेवा विस्तार गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने, स्याँफ्रुबेसी-रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा-सिमिकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुवै पक्ष सहमत भएको बताउनुभयो ।
त्यस्तै, दुवै पक्षले टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अगाडि बढाउने कुरामा सहमति जनाउँदै काठमाडौं चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।हिमालय टाइम्सबाट ।



