
विजयकुमार साह
ढल्केबर ।
जिल्ला अदालत महोत्तरीले नेकपा (एमाले)का निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाउनु भएको छ ।
न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको मुद्दामा बिहीबार फैसला भएको हो । अदालतमा विक पत्नी शोभासमेत उपस्थित हुनुहुन्थ्यो ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको भन्दै सांसद कोइरीसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लामो समयपछि भएको सुनुवाइपछि जिल्ला अदालतले उहाँलार्ई हत्या अभियोगबाट सफाइ दिएको छ ।
जम्मा २८ जनामध्ये आठजना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप छ महिना कैद सजाय हुने अदालतको फैसलामा उल्लेख छ ।
जन्मकैद सजाय हुनेहरुमा प्रदीप शाह माझी, सञ्जय शाह, मोहन ठाकुर, शंकर शाही, रामशंकर मिश्र, अबिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् ।
जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने अविराम शर्मा मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा मधेश प्रदेश सभा सदस्य हुनुहुन्छ ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको एम्बुलेन्सबाट निकालेर धानबारीमा लगेर हत्या गरिएको थियो ।
प्रहरीको फरार सूचीमा रहेका कोइरी प्रतिनिधि सभासदस्य निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित हुनु भएको थियो ।
गोरखापत्र अनलाइन



