खबर

सात महिनापछि पूर्वगृहमन्त्री खाँण थुनामुक्त

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि शुक्रबार थुनामुक्त हुनुभएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उहाँ थुनामुक्त हुनुभएकाे हाे ।

गत बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाणले शुक्रबार धरौटी वापतको बैंक ग्यारेन्टी बुझाउनुभएकाे थियाे ।

खाँणविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षकालागि कारागार चलान गर्न आदेश दिएकोमा उच्च अदालतले बदर गरिदिएको हो । यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि निर्णय हुन सकेको थिएन। खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिनुभएकाे थियाे भने पाण्डेले भने ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिनुभएकाे थियाे । दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशसमक्ष पठाउने निर्णय भएको थियो । बिहीबार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिनुभएकाे थियाे।भुटानी शरणार्थी प्रकरणमा गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाण थुनामा रहनुभएकाे थियाे ।जनता समाचार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button