
नारायण भण्डारी
काठमाडौं । ६ वर्षे कार्यकाल पूरा गरेर अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज (आइतबार) राष्ट्रिय सभाबाट बिदा हुँदै हुनुहुन्छ । उहाँँसँगै २० सांसदको पदावधि पनि आज सकिँदै छ । त्यसको स्थानमा १९ सदस्य निर्वाचित भएर पनि आइसकेका छन् भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ । फागुन २१ गते (सोमबार) नवनिर्वाचित सदस्यहरूको शपथको कार्यक्रम राखिएको छ । माघ ११ मा सम्पन्न चुनावको नतिजा आइसकेपछि राष्ट्रिय सभाको शक्ति सन्तुलन परिवर्तन भएको छ । १८ सदस्यसहित माओवादी पहिलो शक्ति बनेको छ ।
माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहँदै छ । हाल राष्ट्रिय सभामा कांग्रेसका १० सदस्य छन् । माघ ११ गते कांग्रेसबाट १० सदस्य निर्वाचित भएका थिए । चार सदस्य आजदेखि बिदा हुँदै छन् । अब राष्ट्रिय सभामा कांग्रेस १६ सदस्यसहित दोस्रो ठूलो दलको भएको छ । यस्तै, एमाले तेस्रो ठूलो दल भएको छ । हाल एमालेका १७ सदस्य रहेकोमा आजबाट आठ सदस्य बिदा हुँदै छन् । गत राष्ट्रियसभा निर्वाचनमा एकजना उम्मेदवार विजयी भएकाले अब एमालेले १० सदस्यसहित प्रतिनिधित्व गर्नेछ । यता, नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । हाल यो दलबाट राष्ट्रिय सभामा आठजना सदस्य छन् । आजदेखि दुई सदस्य बिदा हुँदै छन् भने दुई सदस्य निर्वाचित भएर प्रवेश गर्दै छन् । यस्तै, जनता समाजवादी पार्टीबाट एक सदस्य बिदा हुँदै छन् भने एक सदस्य निर्वाचित भएर प्रवेश गर्ने भएको संख्या फेरबदल भएको छैन । यता, लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य भने यथावत् रहेका छन् ।
बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुनुहुन्छ । कांग्रेसका चार सांसदहरूमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।
यता, नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन् ।हिमालय टाइम्समा खबर छ ।



