खेलकुदहेड लाइन

रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौँ। कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।

नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाउनुभयो । उहाँले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाउनुभएको हो। दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, अनिल शाहले ५ रन बनाउनुभयो। गुल्सन झा नटआउट ९ रन बनाउनुभयो भने प्रतिस जिसीले नटआउट ५ रन जोड्नुभयो।

वेस्ट इन्डिजका लागि म्याथ्यू फोर्ड र ओबेद म्याकोएले दुई दुई विकेट हात पार्नुभयो भने किमो पलले १ विकेट लिनुभयो।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको थियो।

नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गर्नुभयो। उहाँले ४६ बल खेल्दै ७४ रन बनाउनुभएको हो। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाउनुभयो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पार्नुभयो। दुई टोलीबिचको दोस्रो खेल आइतबार हुनेछ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button