मूल खबरहेड लाइन

कक्षा ३ मा पढ्दै ३३ आमा

बाबुराम शर्मा

दोलखा । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ ।

ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गर्नुभएको हो । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उहाँहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उहाँहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्नुहुन्छ ।

आमाहरूलाई छुट्टै कक्षाकोठा

ठुलोपाताल माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भएका आमाहरूको उमेर ३५ देखि ७० वर्षसम्म छ । उहाँहरूको दैनिकी चुलोचौको र घाँसदाउरामै बित्थ्यो । अहिले आधा दिन विद्यालयमा बित्छ ।

विद्यालयका प्रधानाध्यापक सुनील सुनुवारले भन्नुभयो, “उहाँहरू घरको काम र वस्तुभाउलाई खोलेघाँस दिएर बिहान १० बजे विद्यालय पुग्नुहुन्छ र दिउँसो १ बजे खाजा खाएर घर फर्किनुहुन्छ ।” उहाँले पढ्ने इच्छा देखाएपछि विद्यालयमा भर्ना हुन आह्वान गरेको बताउनुभयो। उहाँका अनुसार विद्यार्थीसँगै राख्दा नमिल्दो देखिने भएकाले उहाँहरूलाई छुट्टै कक्षाको व्यवस्था गरिएको छ ।”

प्रधानाध्यापक सुनुवारले आमाहरू विद्यालय आउनुअघिको एक घटना स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “केही समयअघि आमा समूहको बैठकमा बस्यो । सचिव नआएपछि बैठकको माइन्युट लेख्ने मान्छे भएन । लामै समय कुर्दा पनि बैठक बस्न सकेन । समूहमा आबद्ध कोही पनि पढेलेखेको नभएपछि समस्या भयो भन्ने बुझेर उहाँहरूले पढ्न सुरु गर्नुभयो ।”

उहाँले यही समस्या बुझेर आमाहरूलाई पढ्नका लागि विद्यालय आउन आग्रह गर्दै विद्यालय भर्ना भएपछि निःशुल्क पढ्ने र नेपाली वर्णमाला किताबको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले अब खेती, व्यापारका काम गर्न युट्युब हेरेर सकिन्छ भनेर देखाइदिएँ ।

मोबाइल चलाउन, युट्युब हेर्न पनि पढाइ चाहिन्छ । उहाँहरूमा यो कुराले छोयो ।” शिक्षक दरबन्दी कम भएकाले लेखामा काम गर्ने, शिक्षक र सहजकर्ताले आमाहरूलाई पढाउनुहुन्छ । कक्षा ३ मा पढ्ने अरू विद्यार्थीभन्दा उहाँहरू अनुशासित र ध्यान दिएर पढ्नुहुन्छ । विद्यालयले आमाहरूलाई पढाउने शैलीमा दुई वटा विधि अपनाएको छ । प्रधानाध्यापक सुनुवारका अनुसार उहाँहरूलाई सङ्गीतको माध्यमबाट र सामान्य तरिकाले अक्षर चिनाइन्छ ।

सल्लेफेदी कृषक महिला समूहकी अध्यक्ष बिन्दा श्रेष्ठले बैठकको निर्णय लेख्न नसक्दा र माइन्युट गर्दा अरूको ‘मुख ताक्नु’ परेको तितो यथार्थले पढ्न सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा छोराले एसइई दिइसक्यो । अर्को कक्षा ८ मा पढ्छ । म कक्षा ३ बाट पढाइ सुरु गर्दै छु । एसइई गरेरै छाड्ने आँट पो पलाएको छ त ।”

भुसुने, सल्लेफेदी, सल्लेका तामाङ, क्षेत्री र श्रेष्ठ समुदायका आमा एउटै पोसाकमा विद्यालय जान्छन् । ठुलोपातालमा विशेष गरी आलु खेती हुने भएकाले विद्यालयले असारमा १५ दिन आलु खन्न र पुसमा रोप्न एक महिना बिदा दिने भएको छ । उहाँहरूले पढ्न अग्रसर भए कक्षा वृद्धि गर्दै लैजाने विद्यालयको तयारी छ ।

एसइईसम्म पढ्ने सोचमा रहेकी ठुलोपातलकी ५२ वर्षीय लीलामाया तामाङले सामान्य कारोबार, कृषक समूह तथा आमा समूहको बैठक बस्न र निर्णय लेख्न नसक्ने भएपछि पढ्ने जाँगर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकको निर्णय लेख्न नजान्दा लज्जित हुनुपरेको थियो । त्यही कारण पढाइ सुरु गरेँ ।”

छोरीलाई पढाउनु हुँदैन भन्ने सोचको उपज ग्रामीण महिला पढ्नबाट वञ्चित छन् । समूहकी सचिव सुमिना तामाङले आफैँले विद्यालय पठाएर शिक्षित बनाएका छोराछोरीले पढ्न प्रोत्साहन गर्ने गरेको बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button