मूल खबरहेड लाइन

सबैभन्दा धेरै दुर्घटना दुईपाङ्ग्रेको

लक्ष्मण दर्नाल

काठमाडौँ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ । तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ ।

ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै परेका छन् । मोटरसाइकलपछि कार, भ्यान र जिप बढी दुर्घटनामा पर्ने गरेका छन् ।

दुईपाङ्ग्रे सवारीमा छिटोछरितो जान खोज्ने, यात्रा सहज हुने, बढीमा दुई जना मात्र हुने, ट्राफिक नियम पालना गर्न नखोज्ने, लापर्बाही गरी आवश्यकताभन्दा तीव्र गतिमा चलाउने भएकाले बढी दुर्घटना हुने ट्राफिक प्रहरीको विश्लेषण छ । दुर्घटनाका हिसाबले मोटरसाइकल आफैँमा जोखिम बढी भएको साधन भएकाले पनि बढी मात्रामा दुर्घटना हुने गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा आठ हजार ३६४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा आठ हजार ३४२ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले आर्थिक वर्ष २०८०/८१ को हालसम्म सात हजार ६८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेको बताउनुभयो ।

तीन वर्षमा दुर्घटनामा पर्ने सवारीसाधनमा पहिलो मोटरसाइकल तथा स्कुटर, दोस्रोमा कार, भ्यान, जिप रहेका छन् भने तेस्रो स्थानमा बस र ट्रक देखिन्छ । खड्काले भन्नुभयो, “सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर पर्ने गरेका छन् ।

छिटोछरितो जान खोज्ने, ट्राफिक नियम पालना नगर्ने, तीव्र गतिमा विशेष गरी युवा पुस्ताले चलाउने भएकाले पनि दुर्घटना भएको देखिन्छ । मुख्य त लापर्बाही नै हो । मोटरसाइकलबाट नियम उल्लङ्घन गर्न र भाग्न पनि सजिलो छ ।” आर्थिक वर्ष २०८०/८१ मा सवारीसाधनमध्ये सबैभन्दा धेरै पाँच लाख दुई हजार ११३ मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा भने कारबाहीको सङ्ख्या कम छ । तीन लाख ६१ हजार ३५७ मोटरसाइकल तथा स्कुटर कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १० हजार ७३२ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । २०७९/८० मा १० हजार ६७६ दुर्घटना हुँदा १८७ को मृत्यु भएको थियो । त्यस्तै २०८०/८१ मा आठ हजार ८८१ सवारी दुर्घटनामा १७७ जनाको मृत्यु भयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button