कृषि र किसान

एघार करोडको तरकारी बिक्री

सर्लाही । भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असारमा मात्रै ११ करोडभन्दा बढीको तरकारी बिक्री भएको छ ।

किसानले तरकारी बिक्री गरेर मनग्गे आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी तरकारी बजारबाट बर्सातको महिना असारमा समेत ११ करोड ५८ लाख ८९ हजार १७५ रुपियाँको तरकारी बिक्री भएको हो । किसानले लालबन्दी नगरपालिका–७ स्थित थोक तरकारी बजार डुमडुमेमा ल्याएर बिक्री गर्ने तरकारी व्यापारीले खरिद गरी छेउछाउका बजार मलङ्गवा, चन्द्रपुर, गौर, जनकपुरसहित काठमाडौँ, हेटौँडा, सिन्धुली, कटारी साथै पहाडी जिल्ला सोलखुम्बुसम्मका बजारमा पु¥याएर बेच्ने गरेका छन् ।

लालबन्दी बजारबाट असारमा सबैभन्दा धेरै परबर चार करोड १० लाख ५५ हजार रुपियाँ बराबरको निकासी भएको छ । उत्पादनको मुख्य याम भएकाले सर्लाहीका किसानले अहिले परबर धमाधम फलाइरहेका छन् ।

यहाँबाट एक करोड ५१ लाख १९ हजार पाँच सय रुपियाँ बराबरको भिन्डी बिक्री भएको छ । गोलभेँडा एक करोड २२ लाख नौ हजार चार सय रुपियाँ बराबरको निकासी भएको छ । गोलभेँडा सर्लाहीको मुख्य उत्पादन हो । यहाँको बजारमा भारतीय गोलभेँडासमेत भित्रिने गरेको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार असारमा लालबन्दीका किसानले बेचेको ७६ लाख ४० हजार रुपियाँको बोडी र ४५ लाख ६२ हजार चार सय रुपियाँको लौकासमेत अन्य मुख्य सहरमा निर्यात भएको छ ।

‘सिजन’ भएकाले मनग्गे फलिरहेको झिँगनीबाट असारमा किसानले ५१ लाख ३७ हजार र काँक्रोबाट २८ लाख ७६ हजार १२५ रुपियाँ कमाइ गरेका छन् । सर्लाहीमा लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, बरहथवा र चन्द्रनगरका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारी हुने हो ।

यहाँका किसानले फलाएको तरकारी लालबन्दीस्थित थोक तरकारी बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । महोत्तरीको बर्दीबास र गौशाला नगरपालिकाका किसानले समेत लालबन्दी बजारमा ल्याएर तरकारी बिक्री गर्ने गरेका छन् ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button