
मुक्ति पौडेल
पाटापुर । झापाको पुर्बोउत्तर बाहुण्डागीमा रहेको महाभारतकालीन पौराणिक कथन अनुसार भगवान श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएको धार्मिक पर्यटकीय स्थल कृष्णथुम्कीमा मन्दिर र गुम्बाको मर्मत सम्भार गरिएको छ ।
मेचीनगर नगरपालिका वडा नं। १ स्थित कृष्णथुम्की मन्दिरमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छ भने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतिकको रुपमा पाथी आकारको छ वटा मनमोहक डाँडा रहेका छन् ।
मन्दिर र गुम्बाको मर्मत सम्भारमा रु। ३० लाख ३९ हजार १८० खर्च भएको कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीको भनाइ छ। जसमा सहरी विकास मन्त्रालयले रु। २८ लाख पाँच हजार १९७ सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट रु। दुई लाख ३४ हजार ६२६ जुटाइएको उनले जानकारी दिए ।
मन्दिर र गुम्बाको मर्मत सम्भारपछि कृष्णथुम्की धार्मिक क्षेत्रको मुहार नै फेरिएको छ । पहाडी अग्लो टाकुरामा रहेको मूल मन्दिर पुग्नका लागि रेलिङसहितको पक्की सिढी निर्माण गरिएको छ भने गुम्बा, साकेला थान र राधाकृष्णको मन्दिर रंगरोगन गरेर आकर्षक बनाइएको छ ।
काँकरभिट्टाबाट १७ किलोमिटर उत्तर मेची र सिद्धी नदीको संगमस्थलमा रहेको कृष्णथुम्की धार्मिक क्षेत्र हिन्दू, किरात र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल हो । वर्षेनी हजारौं बाह्य तथा आन्तरिक पर्यटक यहाँ आउने गरेको समितिका पुर्ब अध्यक्ष महेन्द्र मल्लले बताए ।
यो क्षेत्र दृश्यावलोकनका लागि समेत प्रसिद्ध छ । यहाँका छ वटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष मल्लले बताए ।
झापाको काँकरभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको र दक्षिणतिरबाट सडक कालोपत्रे भइरहेको हुँदा आगामी दिनमा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज हुने भएको छ।
पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थान विन्दु समेत रहेको कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्की लगायतका ऐतिहासिक धार्मिक क्षेत्रहरुको पर्यटन प्रवर्धनमा सघाउ पुग्ने सम्भावना छ बढेको छ।



