खबरहेड लाइन

स्ववियु चुनावको रन्को

काठमाडौँ, चैत ३ गते । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् । देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को मातृपार्टीसम्म पुगेको छ ।

चुनावकै विषयलाई लिएर विद्यार्थीबिच उत्पन्न विवादले केही क्याम्पसमा तालाबन्दी भएको छ तर अधिकांश क्याम्पसमा निर्वाचन कार्यतालिका अनुरूप गतिविधि अघि बढिरहेको छ । स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न हुँदै छ । यस्तो चुनाव प्रत्येक दुई वर्षको अन्तरालमा हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धनप्राप्त एक हजारभन्दा बढी क्याम्पसमा चुनाव हुँदै छ । एकातिर विद्यार्थी सङ्गठनको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ आफैँमा नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा विद्यार्थी सङ्गठनले यस निर्वाचनलाई प्रयोग गर्न खोजेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनका लागि आफूहरूले स्पष्ट एजेन्डा लिएर प्रचार प्रसारमा लागेको बताउनुभयो ।

विद्यार्थीका हकहितका विषयवस्तु तथा एजेन्डा राख्न सक्ने, आमविद्यार्थीलाई नेतृत्व गर्न सक्ने व्यक्तिलाई आफूहरूले निर्वाचनमा उतारेको उहाँले बताउनुभयो । स्वच्छ प्रतिस्पर्धामार्फत विद्यार्थीलाई नेतृत्व चयन गर्न दिनु पर्छ भन्ने पक्षमा आफूहरू रहेको बताउँदै अध्यक्ष बडालले भन्नुभयो, “हामी त्यही अनुसारै अगाडि बढिरहेका छौँ ।”

हिमाली तथा पहाडी जिल्लाका क्याम्पसको स्ववियु निर्वाचनमा मुख्य गरी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का विद्यार्थी सङ्गठनबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मधेश प्रदेशमा मधेशवादी दलका विद्यार्थी सङ्गठन पनि मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी सङ्गठनबिच प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि विद्यार्थीको हक र अधिकारको एजेन्डा बोक्ने नेतृत्वलाई निर्वाचनमार्फत चयन गर्नुपर्ने बताउनुभयो । साथै स्ववियुलाई नेतृत्व क्षमता विकास गर्ने प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश सापकोटाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको वास्तविक मुद्दालाई सम्बोधन गर्नेतर्फ स्ववियु केन्द्रित हुनुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष महेश श्रेष्ठले विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्ने र त्यहाँको समस्या समाधान गर्ने नेतृत्व ल्याउने पक्षमा आफूहरू रहेको बताउनुभयो ।

निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जटिलता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।

प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशैभरि केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button