मूल खबर

घरपालुवा कुकुरमा ‘माइक्रोचिप’

तस्बिर : इन्टरनेट

भउचप्रसाद यादव

काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान अभियान सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा यो अभियान सुरु गरेका हो ।

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नूरनिधि न्यौपानेले महानगरभित्र रहेका घरपालुवा कुकुरको सुरक्षा, तिनीहरूको यकिन तथ्याङ्क सङ्कलन तथा कुकुरपालकको पहिचान गर्ने उद्देश्यले कुकुरहरूमा ‘माइब्रोचिप’ जडान अभियान सुरु गरिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले जारी गरेको कुकुर/बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ । यस अनुसार महानगरपालिकाले कुकुर/बिरालो दर्ता तथा ‘माइक्रोचिपिङ’ अभियान सुरु गरेको हो ।

“घरमा पालिएका कुकुर सडकमा आयो भने यो कसको कुकुर हो भन्ने कुरा थाहा होस् भन्ने उद्देश्यले समेत यो अभियान सुरु गरिएको हो । ‘माइक्रोचिप’ को आधारमा कुकुरपालकलाई पहिचान गरी जरिबाना गरिने छ,” उहाँले भन्नुभयो, “घरमा कुकुरलाई छोराछोरीसरह पाल्ने र दुईचार महिनापछि रोग लागेमा जतासुकै जाओस् भन्न पाइँदैन । त्यसका लागि यो कसको कुकुर रहेछ भन्ने कुरा थाहा होस् । कुकुरले जथाभाबी फोहोर गरेमा ‘माइक्रोचिप’ का आधारमा कुकुरपालकको पहिचान गरी कुकुरले गरेका फोहोर सफा गर्न लगाउँछौँ ।” उहाँले ‘माइक्रोचिप’ लगाउन कुकुरपालकहरूलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिसकिएको बताउनुभयो । यो अभियानको कुनै समयसीमा नरहेको र यसलाई महानगरले निरन्तर रूपमा अगाडि बढाउने उहाँको भनाइ छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागका पूर्वप्रमुख अवधेश झाले भन्नुभयो, “कुकुरपालकले कुनै क्लिनिकमा गएर कुकुरमा एक हजार रुपियाँ तिरेर ‘माइक्रोचिप’ हाल्नु पर्छ । चिप हालिसकेपछि सम्बन्धित चिकित्सकले कुकुरको जात खुलाएर फाराम भर्नु पर्छ । कुकुरपालकले त्यो फाराम लिएर सम्बन्धित वडा कार्यालयमा गएर दर्ता गराउनु पर्छ ।”

विदेशी कुकुरलाई शुल्क

उहाँका अनुसार वडा कार्यालयमा नेपाली जातको कुकुरको निःशुल्क र विदेशी जातको कुकुरको दर्ता शुल्क दुई हजार रुपियाँ तोकिएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ मा नेपाली जातका सामुदायिक कुकुर वा बिरालो घरमा पालेर आफ्नो नाममा दर्ता गराएमा वडाबाट निःशुल्क दर्ता गरिने उल्लेख गरिएको छ तर विदेशी जातका कुकुर वा बिरालोको हकमा भने प्रतिजनावर दुई हजार रुपियाँ सेवाशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

पूर्वप्रमुख झाले भन्नुभयो, “माइक्रोचिपमा सिमकार्डको जस्तै सङ्ख्या विकास गरिएको हुन्छ । एउटा सिमकार्डको नम्बर अरू सिमकार्डसँग नमिले जस्तै एउटा माइक्रोचिपको नम्बर अरू माइक्रोचिपसँग मिल्दैन । माइक्रोचिपको नम्बरसँगै सम्बन्धित कुकुरपालकको नाम वडा कार्यालयमा दर्ता हुन्छ । दर्ता किताबमा कुकुरपालकको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।”

उहाँका अनुसार कसैले बाटोमा कुकुर छोडदियो वा कसैको कुकुर हरायो भने कुकुरमा जडान गरिएको माइक्रोचिपलाई स्क्यान गरी कुकुरपालकलाई सजिलै पत्तालगाउन सकिन्छ । कुकुरको कुम र घाँटीको छेउमा छालाभित्र माइक्रोचिप राखिन्छ । बेवारिसे कुकुरको कुनै मालिक नहुने भएकाले उनीहरूमा माइक्रोचिप नराखिने पूर्वप्रमुख झाले स्पष्ट पार्नुभयो ।

माइक्रोचिप लगाउन आग्रह

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जालमा घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाउन सबैसँग आग्रह गर्नुभएको छ । उहाँका अनुसार महानगरले माइक्रोचिपिङ कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाएको छ । सुरक्षित र किफायती रहेको माइक्रोचिपको प्रयोगले हराएका कुकुरलाई भेट्टाउन र मालिकसँग पुनर्मिलन गराउन महìवपूर्ण भूमिका खेल्ने र कुकुरको स्थायी पहिचान प्रदान गर्ने उहाँको भनाइ छ ।

माइक्रोचिप लगाइएका कुकुर/बिरालोको मृत्यु भएमा, स्थानान्तरण गरेमा वा हराएमा सम्बन्धित मालिकले सात दिनभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी दिनसमेत काठमाडौँ महानगरले सबैसँग आग्रह गरेको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button