
गरिमा यस्तो शब्द हो जसको तौलको कुनै सीमा नै हुँदैन गौरवबाट गरिमा बन्छ बजनिलो, गहकिलो, ओजस्वी सम्माननीय शब्द हो गरिमा। ईश्वरभन्दा तल मानव जातिले प्राप्त गरेको गौरवशील स्थान गरिमा हो। आफ्नो नजिकका चिने जानेका आफन्तले पदोन्नति हुँदा उच्च पदमा पदासीन हुँदा सम्मानपूर्वक बधाई दिदा गरिमामय पदमा पदासीन हुनुभएकोले बधाई दिन चाहन्छु भने सम्बोधन गर्ने प्रचलन छ।
मैले थाहा पाउँदा नेपाल सरकारको पुस्तक प्रकाशन शाखा साझा प्रकाशनले प्रकाशित गरी बिक्री गरिने मासिक साहित्यिक प्रकाशित पत्रिका थियो गरिमा। देशका कहलिएकाकवि र साहित्यकारहरूको साहित्यिक रचना समावेश गरिमा पत्रिकामा प्रकाशित हुन्थे। हाम्रो स्कुलले जीवनमा पढ्ने गर्थ्यौ। देशभरिका साहित्यप्रति अभिरुचि राख्ने पाठकहरूको रुचिको प्रकाशन थियो गरिमा पत्रिका। छिमेकी देश भारतका विभिन्न सहर बजारहरू पश्चिम बङ्गालको खर्साङ, दार्जिलिङ ,कालिम्पुङ अनि आसाम र सिक्किममा बसोबास गर्ने साहित्य अनुरागी नेपाली पाठकहरूले खोजीखोजी पढ्ने गर्थे। हामीलाई गर्व लाग्थ्यो त्यस पत्रिकाप्रति नेपालको एउटा पहिचान थियो। सान थियो गरिमा पत्रिका। साझा प्रकाशन बन्द भएसँगै गरिमा हरायो।वर्तमान परिप्रेक्षमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा मुलुकको चर्चाको विषय बनेको छ।
सक्रिय राजनीतिमा फर्कने इच्छा राख्नु उहाँको निजी बिचार हो । त्यस विषयमा केही भन्नु छैन। संसारका थुप्रै मुलुकका उपल्लातह मा पुगेका पदासीनहरू तल्लो तहको राजनीतिमा सक्रिय हुन आएका उदाहरण पनि छन्। बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुन पदावधि सकिएपछि सामान्यमन्त्री बनेका थिए। इटलीका पूर्व प्रधानमन्त्री एन्टोनियो कोस्ता पछि नगर प्रमुख बनेका थिए। सम्मानित मान्छेहरू यसरी तल झर्नुको विशेष कारणहरु हुन सक्छन्। यहाँ पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विखण्डनतिर लागेको बाम राजनीतिलाई एकता गर्ने सूत्रधारका रुपमा रहन सक्नुहोला त्यसैका निम्ति साना कम्युनिस्ट पार्टीहरूले आग्रह गरेका होलान्।
परापूर्वकालमा दानवराज महिसासुरले देवलोकमा वितण्डा मच्चाएर धेरै दुःख दिएको कारण देवताहरुले दुर्गादेवीको आराधना गरेका थिए रे देवताहरूको आग्रह र प्रार्थना स्वीकार गर्दै देवी प्रकट भई महिषासुरको वध गरेकी थिइन् भन्ने शा स्त्रोक्ति पनि छ। तर वर्तमान नेपालको राजनीतिमा फरक पनि पर्न सक्छ। गुट लुट र फुटको दलदलमा फसेको नेपालको राजनीतिक दलहरुलाई जनताले विश्वास गर्न छोडिसकेका छन्। विगत केही महिना अघि मात्र छिमेकी राष्ट्र बङ्गलादेशको जस्तो जनविद्रोहको दरिलो सम्भावना बढेको परिपेक्षमा पूर्व राष्ट्रपतिको राजनीतिमा पुनरागमनको सम्भावना आंकलन गरिएको हुनसक्छ।
विश्वका थुप्रै देशहरूमा जहाँ महिला नेत्रीहरूले सफलतापूर्वक नेतृत्व सम्हालेका थिए। बेलायतको पूर्व प्रधानमन्त्री मार्गरेट थिएचर , भारतकि पुर्ब प्रधानमन्त्री इन्दिरा गान्धि , श्रीलंकाका पूर्व राष्ट्रपति सिरिमाओ बन्दरा नायके चन्द्रिका कुमारातुंगा, पाकिस्तानकी पूर्व प्रधानमन्त्री ब्यानजिर भुट्टो, बंगलादेशमा बेगमखालीदाजिया, शेखहसिना वाजेद
लगायतले सरकार सम्हालिसकेको इतिहास पनि छ।
दन्त कथामा लेखे जस्तो गरिब परिवारका दम्पतिले आफ्ना सन्ततिको भोक टार्न अन्न जुटाउने सिलसिलामा घरको अगेनामा ढुङ्गा राखिदिएर दाउरा हाली आगो सल्काएर” दाउरा थप्दै गर है नानी हो पाकेपछि खानु ” भनि आफूहरू दाउरा खोज्न जंगल जाँदा आँधी हुरीले दुवैको मृत्यु भएको यता अबोध बालकहरू अगेनाको ढुङ्गो पाक्ने आशामा दाउरा थपिरहेको जस्तो नेपाली जनताको अवस्था विद्यमान छ।
तर सरसर्ती हेर्दा पूर्व राष्ट्रपतिले आफ्नो नैतिक धरातललाई पनि विचार पुर्याउनुपर्छ। मानिस ईश्वर बन्न सक्दैन सोच्नु पनि हुँदैन नेपालको राजनीतिक क्षेत्रमा सबैभन्दा उच्चतम मर्यादाक्रममा राष्ट्रपति पर्दछ। उपल्लो तहको मर्यादाक्रम हो राष्ट्रपतिको, यस्तो गरिमामय पदमा दुई दुई कार्यकाल पदासीन भई इतिहासको रचना गरिसकेको व्यक्तिले आफ्नो मर्यादा र गरिमालाई आँच आउन दिनु कदाचित उपयुक्त हुँदैन भन्ने मेरो बुझाइ हो। मर्यादित व्यक्तित्वहरुले आफ्नो गरिमा र त्यस कुर्सिको मर्यादालाई बचाउन र जोगाउन नसक्नु लज्जाको विषय हो।
आफूभित्र कर्तव्यबोद हुनुपर्छ। म को हो अनि मेरो कर्तव्य के हो भन्ने अनुभूति आफैमा बन्नुपर्छ। मलाई अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको एउटा भनाई याद आयो “तपाईंले धेरै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैँ मूर्ख बनाउन सक्नुहोला तर सबैलाई सधैं मूर्ख बनाउन सक्नुहुन्न”, कमसेकम शासन सत्तामा बस्नेहरुले पदको गरिमालाई त बचाएर राख्ने गर्नुहोस् तपाईँले गरेका कर्महरूले भावी सन्ततिका लागि मार्गदर्सन बन्न सकोस्।
अन्तमा उच्चतहमा पदासीन व्यक्तित्वहरूले पदीय मर्यादालाई आत्मसात गर्न सके देश आफै बन्छ। यहाँ व्यक्ति होइन विचार र सोच कर्तव्य परायणप्रधान हुनुपर्छ। आत्मसमीक्षा गरौं आफूप्रति जनताको झुकाव छ कि छैन विचार गरेर पदमा बस्न र पद लिन चेष्टा गरौं। जनताप्रति उत्तरदायी बनौ देश आफै बन्छ।



