
कविता
सुभद्रा भट्टराई (अर्याल)
खुल्ला सडकमा तिमी
उन्मत्त हुदै उड्न चाहान्छौ
सडक किनारका वृक्षहरूले
चियाइरहेका हुन्छन्
फुकालेर सारी पेटीकोट तिमीले
लगाएको पहिरन देख्दा
लज्जावती जस्तै लजाएको छ प्रकृति
सडक किनारमा ऊ रमिते भएको छ।
दिनहुँ सेता गहुँगोरा पिँडुलो देख्दा
सडक पनि एक पटक जुरुक्क
उठ्न खोज्दो हो
जानीजानी आफ्नो रूप र शृङ्गारको
अहङ्कार बोकेर लठ्ठ पार्दै
किन उठाउन खोज्छेउ
सडकमा लाम लागेका मलामीहरूलाई।
सुस्ताएको सडक किनारबाट
स्पर्श गर्न खोज्छन होला एकान्तमा
तिनै पेटीका पालुवा फेरिएका
नव वृक्षका पातहरू
तिम्रा हरेक पाइलाहरू पछ्याएर
उडेका पतिङ्गरहरू
नतमस्तक हुन्छन होला
रङ्गीन केशराशि र सेता
पिँडुलोहरू सुमसुम्याउन ।
आतुर हुन्छन होला
बैँसालु नजरभित्र रम्न
खोज्छन होला सुनसान रातमा
दिनभरि दृश्यावलोकन गरेका
विचित्रका तिम्रा तस्बिरहरू
लाग्दो हो सडकलाई पनि
यौवनको भोक
र त वायुको सहायताले
तिम्रा कोमल अंङ्गहरूमा
सुस्तरी सुस्तरी स्पर्श गर्ने
बेला बेला लडाउने गर्छ सडक


