सृजनाको चौतारी

खबरदार झण्डा ओढ्नेहरू!

कविता:
– देवेन्द्र किशोर ढुङगाना

राष्ट्रिय झण्डा
कसैको काँधमा ओढिने कपडा होइन,
यो त पसिनाले भिजेको इतिहास हो,
सपना बोकेको
भविष्य हो।
तर आज,
केही हातहरू
झण्डा बोकेर
देशको छातीमाथि आगोको नक्सा कोर्दैछन्,
आन्दोलनको नाममा
विद्यालयको ढोका
बन्द गर्दैछन्,
अस्पतालको सास रोकेर,
र भन्छन्—
“हामी नै राष्ट्रवादी हौं।”

हामी सोध्छौं—
राष्ट्र भनेको
ढुंगा फुटाउनु हो?
देशभक्ति भनेको
जनताको थाल उल्ट्याउनु हो?
परिवर्तन भनेको
सार्वजनिक सम्पत्तिलाई
राख बनाउनु हो?

होइन।
हजार पटक होइन।

राष्ट्रवादी त ती हुन्
जो झण्डालाई
हातले होइन,
हृदयले बोक्छन्।
देशभक्त त ती हुन्
जो सडकमा
आगो होइन,
आशा बाल्छन्।
परिवर्तन त त्यही हो
जहाँ जनताको जीवन
अझ सुरक्षित,
अझ सम्मानित बन्छ।

आज,
चुनावको छायाँसँगै
पुराना- नयाँ खेलाडीहरू
रंगीन मुखौटा लगाएर
फेरि सल्वलाएका छन्।
कसैले राष्ट्रको
नाम लिन्छ,
कसैले धर्मको,
कसैले क्रान्तिको।
तर भित्रभित्रै
उनीहरूको डोरी
बिदेशी हातमा
बाँधिएको छ,
आँखा जनतामाथि होइन,
सत्ताको सिंहासनमाथि टाँसिएको छ।

उनीहरू भन्छन्—
“हामी देश बचाउँछौं।”
तर उनीहरूको पाइला
देशलाई
बजारको माल
बनाउने बाटोमा छन्।
उनीहरू भन्छन्—
“हामी परिवर्तन ल्याउँछौं।”
तर उनीहरूको आवाज
जनताको आवाज होइन,
आयातित नाराको प्रतिध्वनि हो।

यसकारण,
अब मोर्चा कस्ने बेला आएको छ।
ढुंगा उठाएर होइन,
चेतना उठाएर।
आगो सल्काएर होइन,
एकता जगाएर।
यो मोर्चा
कुनै पार्टीको झण्डामुनि होइन,
जनताको आत्मसम्मानमुनि बन्नुपर्छ।

आउनुहोस्,
हामी सडकमा उत्रिऔं—
तर पुस्तक बोकेर,
प्रश्न बोकेर,
सत्य बोकेर।
हामी नाराहरू लेखौं—
तर घृणाले होइन,
न्यायले।
हामी आवाज उठाऔं—
तर कसैलाई
जलाउन होइन,
अन्धकारलाई चिर्न।

बिदेशी शक्ति,
जसले हाम्रो विभाजनमा
आफ्नो नाफा देख्छ,
जसले हाम्रो चुनावलाई
आफ्नो खेल मैदान ठान्छ—
हामी तिमीलाई चिनिसकेका छौं।
हामीलाई
न ऋणको साङ्लो चाहिन्छ,
न निर्देशनको छडी।
हामीलाई चाहिन्छ
आफ्नै निर्णय,
आफ्नै बाटो,
आफ्नै भविष्य।

लखेट्नु छ—
तर बन्दुकले होइन,
सचेत जनमतले।
लखेट्नु छ—
तर नारा मात्रै होइन,
नीतिमा,
संस्कृतिमा,
आत्मनिर्भरतामा।

आजको क्रान्ति
ढुंगाको होइन,
विवेकको हो।
आजको युद्ध
हतियारको होइन,
विचारको हो।
र यस युद्धमा
जित्नेछ
त्यो जनता
जो झण्डालाई
आगोबाट बचाउँछ,
र देशलाई
दलालबाट।

हामी कसम खान्छौं—
राष्ट्रिय सम्पत्ति
अब लुटिने छैन,
राष्ट्रिय सम्मान
अब बेचिने छैन।
चुनाव
अब डरको खेल हुनेछैन,
यो चेतनाको
उत्सव बन्नेछ।

झण्डा
हाम्रो छातीमा फर्फराउनेछ,
किनकि अब
यसलाई ओढेर दुरूपयोग गर्ने होइन,
यसलाई जोगाएर
इतिहास लेख्ने पालो
हाम्रो हो।
भद्रपुर, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button